पार्टी फुटे पनि सल्यानमा गुट सकिएन

पार्टी फुटे पनि सल्यानमा गुट सकिएन

एमाले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका सल्यानी नेता प्रकाशज्वाला एकीकृत समाजवादीतिर गएपछि गुलाबजंग शाहको वर्चश्व थियो । पार्टी विभाजनपछि २०८० को नवौँ जिल्ला अधिवेशनबाट शाहले भीमबहादुर सेन र पुष्पा बोहरालाई नेतृत्वमा ल्याउन चाहेका थिए । तर, प्रतिनिधिबीच सहमति हुन सकेन । जबरजस्त अर्को गुटको उदय भयो– कुलबहादुर गिरी, दीपेन्द्रप्रकाश डिसी र दानबहादुर केसीको नेतृत्वमा । अब चुनाव हुने भयो । २२ भोटको अन्तरमा भीमबहादुरले जिते । सबैलाई मिलाएको भए गुट नै बन्दैनथ्यो ।

दशवटा पालिका रहेको सल्यानमा दुई वटा पूरै प्यानल र एउटामा उपप्रमुख एमालेले जितेको छ । छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी र कालिमाटीकी उपाध्यक्ष सहनशीलता ओली शाहतिर खुलेका छन् भने गिरीलाई कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्री र छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध खत्रीले साथ दिएका छन् । कुमाख गाउँपालिका उपाध्यक्ष लालबहादुर राउत हालसम्म बोलेका छैनन् । 

शारदा नगरपालिकाको आन्तरिक चुनावमा पहिलो पटक शाह प्यानलका मधुसूदन शर्मालाई गिरी प्यानलका महेश देवकोटाले २८ का विरुद्ध ७८ मतले जितेका छन् । बढी पार्टी सदस्य रहेको ठूलो पालिका बागचौर नगरपालिकामा पनि शाह प्यानलका मोहन चन्दनलाई गिरी प्यानलका जनक बिकले ५२ मत बढी ल्याएर जितेका छन् । 

सहमतिमै अधिवेशन सम्पन्न भएका पालिका कालीमाटी, दार्मा, वनगाड र त्रिवेणी कुलबहादुर गिरी र कपुरकोट, छत्रेश्वरी, कुमाख र सिद्धकुमाख शाह पक्षमा विभाजित छ । गुटगत समर्थनका हिसाबले शाहलाई भीमबहादुर सेन, पुष्पा बोहरा, सहनशीलता ओली, सरिता हमाल र राधा सुनारले साथ दिएका छन् भने गिरीतिर दानबहादुर खत्री, दीपेन्द्रप्रकाश डिसी, राजेश वली, जनक बिक, घनश्याम पुन र राजबहादुर केसी खुलेका छन् ।
 

टिप्पणीहरू