रुपन्देहीको मर्चबार : फुक्काफाल तस्कर !

रुपन्देहीको मर्चबार : फुक्काफाल तस्कर !

रुपन्देहीको मर्चबारमा चोरी तस्करीजन्य कार्यमा संलग्नहरुको बोलवाला बढ्दै गएको छ । दिपेश यादव नामका तस्करहरुको समूहले एपिवान टिभीमा कार्यरत पत्रकार राधेश्याम विश्वकर्मामाथि दिनदहाडै आक्रमण गरेको छ । बेथरी–मर्चबार मूल सडक खण्डमा डेढ दर्जन मोटरसाइकलमा लामबद्ध भएर तस्करीको समान ओसारिएको भिडियो खिच्न लाग्दा पत्रकार विश्वकर्मामाथि तस्करहरुले आक्रमण गरेको बताइन्छ । उनीहरुले क्यामेरा तोडफोड र पत्रकार परिचयपत्र खोसेका छन् । भिडियो खिचिरहेको बेलामा एक्कासी अश्लिल शब्दहरु प्रयोग गर्दै क्यामेरा खोसेर भिडियो डिलिट गराइदिएका हुन् ।
 
सोमबार संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी मर्चबारको कार्यक्रमको समाचार संकलन गर्न जाने क्रममा बाटोमा तस्करहरुको लामो लाइनसहित समान ओसार पसार गरिरहेको दृश्य खिच्दा उक्त घटना भएको थियो । सोही घटनालाई लिएर नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, लुम्बिनी प्रदेश समिति, जिल्ला शाखा रुपन्देही, लुम्बिनी प्रेस क्लब, मर्चबार प्रेस क्लब, दलित पत्रकार संघ केन्द्रीय समितिले छुट्टै विज्ञप्ति निकालेर उक्त घटनाको दोषीलाई कारबाहीको माग गरेका छन् । तर १२ घण्टासम्म पनि स्थानीय प्रशासनले दोषीमाथि कारबाही नगरेपछि हिजो रुपन्देहीका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसँग भेट गरेपछि सुरक्षाको माग गरेका छन् । 

पत्रकार महासंघ रुपन्देही शाखा सभापति दिनेश पान्डे , केन्द्रीय सदस्य रामराज पोखरेल, पत्रकार महासंघ लुम्बिनी प्रदेश पूर्व उपाध्यक्ष भरत के.सी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, पूर्व अध्यक्षहरु नरेश के.सी, माधव ढुंगाना र  दिपेश पछाई, मर्चबार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय पुगेको रुपन्देहीका पत्रकारहरुको टोलीले विश्वकर्मामाथि आक्रमण गरेका दिपेश यादवलाई तत्काल पक्राउ गर्न र कारबाही नगरे चरणबद्ध आन्दोलनको चेतावनीसहित लिखित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी घिमिरेलाई बुझाएका छन् । 

पत्रकार विश्वकर्मामाथि आक्रमण गर्ने तस्करीका नाइके यादवलाई सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । तरपछि मझगाव इलाका प्रहरी कार्यालयका इञ्चार्जले भगाएको आशंका गरिएको छ । पत्रकारहरुले त्यसबारे प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएका हुन् ।

घटनापछि लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, महासचिव प्रकाश न्यौपाने, पूर्वअध्यक्ष दिपेश पछाई नेतृत्वको टिम जिल्ला प्रहरी कार्यलय भैरहवा पुगी लिखित उजुरी दिएका थिए । उजुरीपत्र बुझेपछि प्रहरी प्रवक्ता सुरज कार्कीले आक्रमणकारी दिपेश मझगाव प्रहरीको नियन्त्रणमा रहेको र हिजो भैरहवा ल्याई थप कारबाहि अगाडि बढाउने आश्वासन दिएपछि पत्रकारको टिम घर फर्केको थियो । तर सोमबार साँझ नै दिपेश प्रहरी नियन्त्रणबाट भागेको खबर फैलियो । 

प्रहरीले पनि ती व्यक्ति फरार भएको जनाएको छ । स्रोतका अनुसार मर्चबारमा तस्करीको नाइकेसमेत मानिने यादवले मझगाव प्रहरी टोलीलाई प्रलोभनमा पार्दै आएको धेरैको आशंका छ । त्यस्तो प्रलोभनको अंश माथिसम्म पुग्ने बताइन्छ । यादव उनै व्यक्ति हुन जसले केही महिना पहिले भैरहवा भन्सारको टिम र राजस्व अनुसन्धान कार्यालय बुटवलको टिम मर्चवारमा जाँदा आक्रमण गरेका थिए । त्यतिबेला पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । 

मर्चबारका शक्तिशाली तस्करको परिचय बनाएका उनले स्थानीय प्रहरी अधिकृतहरुलाई आफू अनुकुल परिचालन गर्ने गरेको दाबी गर्छन् । स्थानीय प्रहरी अधिकृत र कर्मचारीहरुले पनि दिपेशको आदेशको शिरोधार्य गरेका केही घटना विगतमा समेत भएको थियो । मर्चबारमा तस्करीको लाइन मिलाउने, सेटिंग मास्टर दिपेश यतिबेला भारत पुगेको बताइन्छ । यद्यपी प्रहरीले उनको खोजी कार्य जारी रहेको बताएको छ । 

यता पत्रकार सम्बद्ध संघसंस्थाले आफ्ना सहकर्मीमाथि आक्रमण गर्ने दिपेशलाई पक्राउ नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणाको चेतावनी दिइसकेका छन् । मर्चबारका तस्करहरुले उक्त क्षेत्रमा प्रहरी प्रशासनलाई आफु अनुकुल प्रयोग गर्ने, आफ्नो इशारामा नचल्ने प्रहरी कर्मचारीलाई सके सरुवा गर्ने नसके अख्तियार लगाएर फसाउने सम्मका कार्य गरेको पाइन्छ । मर्चबारको दुगौलिया प्रहरी चौकीका इञ्जार्च खेम खड्काले चोरी नियन्त्रण गर्न खोज्दा तस्करहरुको एक समूह सुरेन्द्र यादवको टिमले आफैँ पैसा दिएर अख्तियार लगाएर फसाएको घटना ताजै छ । उक्त घटना सेलाउन नपाउँदै सोमबार तस्करहरुको समूहले पत्रकार राधेश्याम विश्वकर्मामाथि आक्रमण गरेका हुन् ।

टिप्पणीहरू