कोशीबाट लुम्बिनी पुगेलगत्तै भन्सार हाकिमको क्षमतामाथि प्रश्न
केही महिनाअघि मात्रै पूर्वको मेची भन्सार कार्यालयबाट भैरहवा पुगेका भन्सार प्रमुख रामप्रसाद रेग्मीको कार्य क्षमतामाथि प्रश्न उठाइएको छ । भन्सार जाँचपास परीक्षण कार्यालयले हालै गरेको एउटा अन्तरक्रियामा सहभागीहरुले कार्यालयको थुप्रै कमजोरी औंल्याएपछि कार्यालय प्रमुख नैतिक प्रश्नको घेरामा परेका हुन् ।
जाँचपास कार्यालयका प्रमुख सहसचिव पार्वती अर्याल नेतृत्वको टोलीले चैत दोस्रो साता भैरहवा भन्सार कार्यालयको सभा हलमा गरेको अन्तरक्रियामा भन्सार पदाधिकारी, जिल्लास्थित उद्योग वाणिज्य संघका प्रतिनिधि, भन्सार एजेन्ट, विज्ञका रुपमा अर्थ मन्त्रालयका पूर्व सहसचिव निर्मलहरि अधिकारीलगायत सरोकारवालाहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा बोल्ने क्रममा वक्ताहरुले भन्सारमा हुने कमीकमजोरी र मिलिभगतबाट राजस्व अपचलन तथा चुहावट रोक्न कार्यालयले पर्याप्त पहलकदमी लिन नसकेको तथ्य औंल्याएका थिए ।
त्यसक्रममा भन्सार जाँचपास कार्यालयका प्रतिनिधिले कतिपय मालवस्तुको पुनः जाँचपास गर्दा हार्मोनाइज्ड सिस्टमको कोडबाट जानुपर्ने मालवस्तुहरु अर्को कोडबाट घोषणा हुने, मिल्दोजुल्दो प्रकृतिको आधारमा घटी (कम) महशुलदर भएका हार्मोनाइज्ड सिस्टम कोडबाट घोषणा भई जाँचपास हुनेजस्ता समस्या फेला परेको बताएका थिए ।
यसैगरी, साफ्टालगायतका छुट सुविधा नपाउने मालवस्तुलेसमेत छुट घोषणा गरी जाँचपास हुने गरेकोमा पनि प्रश्न उठाइएको थियो । त्यसो त, पूँजीगत प्रकृतिका मालवस्तुहरु अधिक मूल्यमा पैठारी भई जाँचपास हुनेजस्ता समस्या सँधै ताजा छन् ।
अर्कोतिर, मालवस्तुको जाँचपास गर्ने भन्सार बिन्दुहरुले पर्याप्त सावधानी नअपनाउँदा मुलुकबाट पूँजी पलायन भई व्यापार सन्तुलन बिग्रिएकोतर्फ पनि गम्भीर चासो प्रकट भएको थियो । यसमा भन्सार प्रमुख र त्यहाँका कर्मचारी चनाखो नभएकोमा धेरैको टिप्पणी छ ।
अर्कोतर्फ भैरहवा भन्सारबाट न्यून बिजकीकरण अर्थात् अन्डर इन्भ्वाइसमा पैठारी हुने मालवस्तुको जाँचपासमा मूल्यांकन गर्दा सावधानी अपनाउनुपर्नेमा त्यसो नभएको पनि पाइएको छ । कर्मचारी र व्यापारीसँगको मिलीभगतमा राजस्व हानी नोक्सानी पुर्याउने गरी बद्नियतपूर्वक काम भइरहेको अन्तरक्रियाका क्रममा खुलेको हो । व्यापारी र भन्सार एजेन्टले राजस्व चुहावट तथा अपचलनको मुद्दामा कर्मचारी पनि छानबिनमा तानिनुपर्ने मत राखेका थिए ।
सिद्धार्थनगर वाणिज्य संघका उपाध्यक्ष बेदकुमार कानुले भने, ‘जाँचपास गर्ने अधिकारीमाथि खोई कारबाही ? मिलेमतोमा भएका भन्सार छलीको घटनामा कर्मचारीलाई कारबाही नहुने हो भने बदमासी कसरी रोकिन्छ ।’ कर्मचारीको सहभागिता बिना भन्सार एजेण्ट र व्यापारीले मात्र भन्सार छली गर्न नसक्ने उनको तर्क थियो ।
नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि गणेश अधिकारीले व्यवसायी मात्र कारबाहीमा पर्ने तर अरु उम्कने अवस्थाप्रति असन्तुष्टि जनाए । अर्थ मन्त्रालयसँग सम्बन्धित निकायहरु यसप्रति चनाखो हुनुपर्ने सुझाव सहभागीहरुले दिएका छन् ।
भन्सारबाट सूर्तीजन्य पाइप (भेप) बाट उठ्नुपर्ने अन्तःशुल्क छल्ने बद्नियतले खास फेबर देखाउँदै गोलमाल गर्ने प्रवृत्ति पनि उस्तै छ । यस्तो कार्य विगतमासमेत हुने गरेको र अहिले झन् बढेको अन्तरक्रियाका सहभागीले भन्सार प्रमुख रेग्मीलाई गम्भीरताका साथ सुनाएका थिए । ‘यसबाट अहिलेसम्म कति राजश्व गुमेको छ र यस्ता क्रियाकलाप रोक्न के–कस्ता प्रयास भए छानबिन गर्नुपर्छ’, अन्तरक्रियामा एक जनाले उठाए ।
त्यसैगरी, अन्य भन्सारबाट पनि मोटरसाइकलको पाटपूर्जालाई मिल मेशिनरीको हार्मोनाइज्ड कोडबाट जाँचपास गर्ने गरेको र त्यसबाट करोडौंको राजस्व गुमेको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरियो । सम्पत्ति शुद्धिकरण कानूनसमेत उल्लंघन भएको मानिने यो अवस्था नेपाल अन्तर्राष्ट्रिय वित्त बजारमा ग्रे लिस्टमा पर्नुमा एउटा कारण ठानिएको छ । अर्कोतर्फ बजार तथा व्यापारमा स्वस्थ व्यापार प्रणाली कायम नहुने अवस्था पनि छँदैछ ।
टिप्पणीहरू