शिक्षामन्त्री बनेका रघुजी आठौँ नम्बरमा
नेकपा (एमाले)का सांसद रघुजी पन्त शिक्षामन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न उनलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
पन्तले भोलि पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीकै दलकी सांसद विद्या भट्टराईले सोमबार साँझ शिक्षामन्त्रीबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
नवनियुक्त शिक्षामन्त्री पन्त मन्त्रिपरिषद्को वरियताक्रममा आठौँ नम्बरमा छन् । प्रधानमन्त्री ओलीपछि दोस्रो नम्बरमा उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशनमान सिंह र तेस्रोमा अर्का उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् ।
वरियताको चौथो नम्बरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पाचौँमा गृहमन्त्री रमेश लेखक, छैठौँमा श्रम, रोजगार तथा सामाजिक सरक्षामन्त्री शरदसिंह भण्डारी र सातौँ नम्बरमा परराष्ट्रमन्त्री डा. आरजु राणा छिन् । त्यसपछि पन्त आठौँ नम्बरमा अटाएका हुन् ।

टिप्पणीहरू