नगरपालिकाको कडाइ गरेपछि स्कुल फर्किए शिक्षक

नगरपालिकाको कडाइ गरेपछि स्कुल फर्किए शिक्षक

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका बन्द विद्यालय आजदेखि खुलेका छन् । शिक्षक आन्दोलनका कारण पठनपाठन अवरुद्ध भएकोमा नगरपालिकाको कडा निर्देशनपछि पढाई सुचारु भएको हो । 

नगरपालिकाको निर्देशनपछि केही विद्यालय आजदेखि सञ्चालनमा आएको नगरप्रमुख टोकबहादुर बाईवाले बताए । नगरपालिकाले हिजो सूचना जारी गर्दै बालबालिकाको पढ्न पाउने हक कुण्ठित नगर्न आग्रह गरेको थियो ।

लोकतान्त्रिक विधिअनुसार आन्दोलनको स्वरुप परिवर्तन गरी विद्यालयको नियमित गतिविधि र पठनपाठन पनि संगसंगै लैजान सुझाव दिएइको थियो । नगरपालिकाका ३३ वटा सामुदायिक विद्यालयमध्ये केहीले पठनपाठन सञ्चालन गरेको नगरप्रमुख बाईवाले जानकारी दिए ।

जनआस्थासँग उनले भने,‘आजदेखि केही सामुदायिक विद्यालय खुलेका छन् । केही प्रधानाध्यापक, शिक्षक यहीँ हुनुहुन्छ, केही काठमाडौं । यहाँ भएकाले पठनपाठन सुचारु गर्नुभएको छ ।’ 

शिक्षा ऐन जारी गर्न माग गर्दै मुलुकभरका शिक्षक राजधानी केन्द्रित आन्दोलनमा छन् । उनीहरु आन्दोलनमा आएपछि सामुदायिक विद्यालयमा पठनपाठन ठप्प बनेको छ । 

यता, स्थानीय तहहरुले सूचना जारी गरेर विद्यालय सञ्चालन गर्न आग्रह गरिरहेको छ ।
 

टिप्पणीहरू