फेसबुकलाई अब सात दिनको म्याद
सरकारले सात दिनको समयसीमा तोकेर सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटालाई नेपालमा दर्ता हुन निर्देशन दिएको छ । उक्त अवधिमा विधिवत दर्ता नभए फेसबुकमाथि प्रतिवन्ध लगाउने सरकारको तयारी छ ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघि तीन पटक सूचना जारी गर्दा पनि मेटाले बेवास्ता गरेको भन्दै अब त्यस्तो छुट नदिने स्पष्ट पार्नुभयो । ‘हामीसँग दर्ता हुनुपर्दैन ? कर तिर्नुपर्दैन ? त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन ?’, आज दिउँसो राष्ट्रिय सूचना आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘तीनपटक भयो, म आउनबित्तिकै सूचना जारी गरेँ, अस्ति भर्खर म्याद सकियो । अब ७ दिनभन्दा बढी दिन्नँ मैले ।’
मन्त्री गुरुङले नेपालीको पैसा मेटाले लुटिरहेको समेत दाबी गर्नुभयो । झोक्किदै भन्नुभयो, ‘हरेक घण्टामा यही समाजबाटै दुई चार हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । हाम्रो पैसा त्यसरी लुट्ने ?’
मुलुकको स्वाधिनता पैसासँग तुलना गर्न नसकिने तर्क गर्दै मन्त्री भन्नुहुन्छ, ‘देशभन्दा ठूलो रे उनीहरू, उनीहरूको घमण्ड के रैछ भने नेपालको जीडीपी कति हुन्छ र, हाम्रो संस्थाभन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ, मुलुकको स्वाधीनता पैसामा जोडिँदैन नि !’
टिप्पणीहरू