भरतपुरमा लगातार गाडी दुर्घटना : बिहान दुई युवक घाइते, दिउँसो महिलाको मृत्यु

हिजो राति मोटरसाईकलमा पछ्यौरी अल्झिएर दुर्घटना हुँदा भरतपुर–५ की वृद्धाको खुट्टा भाँचिएर चितवन मेडिकल कलेजमा उपचार भइरहँदा आज फेरि सवारी दुर्घटनाकै कारण भरतपुरमा अर्की महिलाको ज्यान गएको छ ।
दुर्घटना दिउँसो साढे एक बजेतिर भएको हो । गीतानगरबाट भरतपुरतर्फ गइरहेको ना५च २६४४ नम्बरको बलेरोले (अण्डा लोड) सोही दिसातर्फ गइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई भरतपुर–७ प्रेमबस्तीमा ठक्कर दिँदा स्कुटर चालक भरतपुर-६ इन्द्रपुरी बस्ने वर्ष ५२ की लक्ष्मी वाग्ले गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएकोमा दिउँसो २ बजे नै डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन र बलेरो चालक मकवानपुरको मनहरी गाउँपालिका–६ बस्ने वर्ष २५ को पेमा लामा प्रहरी नियन्त्रणमा रहेको र यहाँ बाटो अवरोध नभएको प्रहरीले बताएको छ । प्रहरी चौकी सीतारामचोकबाट करिब २ कि.मि. उत्तरतर्फ पर्ने यस घटनास्थलमा इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी निरीक्षक मिनादेवी राई र जिप्रका चितवनबाट प्रहरी निरीक्षक दिपक रिजालको कमाण्डमा समेत प्रहरी टोली गएको थियो ।
यसअघि आज बिहान पनि भरतपुर–७ मै सवारी दुर्घटना हुँदा मान्छे घाइते छन् । मोटरसाईकल–मोटरसाईकल आपसमा ठोकिँदा दुवै चालकहरु घाइते भएको प्रहरीले बताएको छ ।
भरतपुर–७ वंशीचोकमा बिहान करिब पौने नौ बजेको समयमा गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना५३प ११७३ नं. को मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको लु२७प २११७ नं. को मोटरसाईकलले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
ना५३प ११७३ नं को चालक भरतपुर–११ बस्ने २८ वर्षीय सबिन कुमालको हातखुट्टामा भित्री चोट लागेको र लु २७ प २११७ को चालक चितवनकै माडी न.पा.–१ बस्ने वर्ष ३५ को रामकुमार महतोको दाहिने हात फ्याक्चर भएको बताइएको छ । उनीहरु दुवैको घाइतेअवस्था मध्यम रहेको र दुवैलाई भरतपुर सरकारी अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले बताएको छ ।
ठक्कर दिने लु२७प २११७ नं. को मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको र अर्काे ना५३प ११७३ नं. को मोटरसाईकल जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।
टिप्पणीहरू