पासपोर्ट आइपुगेपछि प्रधानन्यायाधीश बेलायत प्रस्थान
प्रधानन्यायाधीश प्रकाश राउत टर्की हुँदै बेलायतको राजधानी लण्डन जानुभएको छ । उहाँ आज बिहान टर्किस एअरलाइन्सको उडानमा इस्तानबुल हुँदै त्यता जानुभएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
प्रधानन्यायाधीशसँगै रजिष्ट्रार विमल पौडेल पनि उता जानुभएको हो । उहाँहरु बेलायती दूतावासको निम्तोमा त्यहाँको सर्वोच्च अदालतलगायत अन्य अदालतहरुको औपचारिक भ्रमणमा निस्कनुभएको बताइन्छ । यसअघि उहाँ लण्डन र टर्कीका दुई कार्यक्रममा सहभागी हुन अघिल्लो साता उता जाने कार्यक्रम तय भएको थियो । तर, टर्की र बेलायतको भिसा लगाउन नयाँ दिल्ली पठाइएको पासपोर्ट उतै अड्किएर कार्यक्रम चौपट भैदिएपछि आज मात्रै प्रस्थान गर्नुभएको हो ।
गत बिहीबार यहाँबाट प्रस्थान गरेर साँझ इस्तानबुलको कार्यक्रममा सहभागी हुने योजना थियो । तर भीसाको लागि पठाइएको पासपोर्ट नयाँ दिल्लीमै छुटेकाले टर्कीको कार्यक्रम रद्द भएको बताइन्छ ।
काठमाडौंमा टर्कीको राजदूतावास नभएको र बेलायती भीसा पनि दिल्लीबाट मात्रै जारी हुने भएकोले यसनिम्ति नयाँ दिल्ली पुग्नैपर्ने बाध्यता छ । प्रधानन्यायाधीशको बैशाख २४ गते स्वदेश फर्कने कार्यक्रम रहेकाले संवैधानिक इजलास पनि त्यसपछि २८ गते मात्रै बस्ने गरी तय भएको थियो ।
टिप्पणीहरू