‘जेठो मामाको यो गति,कान्छाको भाङ्ग्राको धोती’

‘जेठो मामाको यो गति,कान्छाको भाङ्ग्राको धोती’

दिउँसो एकाएक पक्राउ परेलगत्तै डिल्लीबजार कारागार पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी केही घण्टामै थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई आधिकारिक पत्र लेखेपछि उनी थुनामुक्त भएका हुन् । 

सर्वोच्चका सह–रजिष्ट्रार अच्युत कुईंकेलले ‘यसअघिको पत्र अदालतको आधिकारिक नभएको हुँदा कार्यान्वयन नगर्ने’ व्यहोरासहितको पत्र लेखेपछि उनी थुनामुक्त भएका हुन् । यसअघि मध्यान्ह सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई ‘कैद राख्ने सम्बन्धमा’ भन्दै प्रहरीलाई पत्र लेखेर आफैले बुझाउन लगेका थिए । 

आफैंले हस्ताक्षर गरेको पत्र बोकेर विष्ट काठमाडौँ प्रहरी परिसर पुगेपछि चौधरीलाई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट नियन्त्रणमा लिएर कारागार पठाइएकोमा पहिलेको पत्रलाई अनाधिकृत ठहर गर्दै सर्वोच्चले चौधरीलाई रिहा गर्न पछि आधिकारिक पत्र लेखेको हो ।

पत्र लेख्ने शाखा अधिकृत विष्ट भने प्रहरी नियन्त्रणमा पुगेका छन् । उनले आफ्नो स्वःविवेकले पत्र लेखेको सर्वोच्च प्रशासनलाई सन्कीपूर्ण जवाफ दिएको बताइन्छ । यो प्रकरणले हाम्रा अदालत, प्रशासन,प्रहरी संगठनभित्रको आन्तरिक प्रशासन नियन्त्रणको प्रणालीलाई उदाङ्गो बनाइदिएको छ । मुलुकको सर्वोच्च न्यायालयबाट हुने पत्राचारको आधिकारिकतामाथि नै प्रश्न उठ्न थालेपछि नेपाली पुरानो उखान चरितार्थ भएको छ, ‘जेठो मामाको त यो गति, कान्छाको भाङ्ग्राको धोती ।’

टिप्पणीहरू