चाउ एनलाईले पशुपतिमा भारु चढाएपछि राजालाई चसक्क

चाउ एनलाईले पशुपतिमा भारु चढाएपछि राजालाई चसक्क

स्वर्गीय चिनियाँ प्रधानमन्त्री तथा नेपालका घनिष्ठ मित्र चाउ एनलाई र उनको योगदानको आज राजधानीमा स्मरण गरिएको छ । भतिजी चाउ एर्लियुद्वारा लिखित पुस्तक ‘माइ अंकल चाउ एनलाई’ को नेपाली संस्करण ‘मेरा काका चाउ एनलाई’ को विमोचनका क्रममा सहभागीहरुले चाउ र उनले नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

पुस्तक विमोचन कार्यक्रमलाई इतिहास झल्काउने,दुई देशबीचको मित्रता बढाउने र साझा भविष्यप्रतिको श्रद्धालाई थप प्रगाढ बनाउने क्षणको रुपमा लिइएको छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा चाउ एर्लियुद्वारा लिखित ‘माइ अंकल चाउ एनलाई’ को नेपाली संस्करण आजदेखि बजारमा आएको छ ।

चीन–नेपाल मित्रताको सन्देश बोकेको उक्त पुस्तकका कारण कूटनीतिज्ञ, इतिहासविद्,अनुवादक र पाठकहरु आज एकै थलोमा जुटेका हुन् । कार्यक्रममा मुख्य वक्ता चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले प्रधानमन्त्री चाउको निःस्वार्थ योगदान र त्यसबाट नेपाल–चीन सम्बन्ध निर्माणमा पुगेको ऐतिहासिक भूमिकाको प्रशंसा गरे । सन् १९५७ र १९६० का नेपाल भ्रमण, सगरमाथा क्षेत्रको सीमा विवाद समाधानसम्मको प्रसंग स्मरण गर्दै भन्दै थिए, ‘यो पुस्तक केवल जीवनी होइन, हिमालवारपारको आत्मिक पुल हो ।’

स्वर्गीय प्रधानमन्त्रीकी नातिनी चाउ रोंगले नेपालमा प्राप्त आत्मीय स्वागतप्रति आभार व्यक्त गर्दै आफ्नो परिवारको नेपालप्रतिको सम्बन्धबारे आत्मीय अनुभूति साझा गरिन् । चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतमले चाउ एन लाईको कूटनीतिक योगदानलाई हिमालय क्षेत्रको भू–राजनीतिक सन्दर्भसङ्ग जोडे । अनुवादक अजय शर्माले पुस्तक अनुवादमा लागेको भावनात्मक र बौध्दिक यात्राको अनुभव सुनाएका थिए ।

सम्पादक तथा प्रकाशक किरण गौतमले दुई वर्षअघि,चाउको पुण्यतिथिमा नेपाल पोष्टको १९७६ जनवरी ११ को अंकलाई वि–च्याटमा सेयर गरेपछि,यिलिन प्रेसकी मिस याङसँगको सम्पर्कले उक्त पुस्तक अनुवाद सहकार्यको सुरुवात सम्भव भएको बताए । गौतमले आफ्ना पिताबाट सुनिएको झण्डै सात दशकअघिको ऐतिहासिक महत्वको संस्मरण यसरी सुनाए  ः

‘सन् १९५७ मा प्रधानमन्त्री चाउको नेपाल भ्रमणको बेला,उहाँलाई पशुपतिनाथ मन्दिरमा प्रवेशको अनुमति दिइएको थियो । यद्यपि विदेशीलाई पशुपतिमा प्रवेश निषेध छ । त्यहाँ उहाँले भारतीय रुपैयाँ पाँच सय दान गर्नुभएको भनिन्छ । मेरा बुबाले बाल्यकालमा यो दृश्य देखेको बताउनुभएको थियो । पछि केही वरिष्ठ पत्रकारहरुले पनि त्यो पुष्टि गरेका छन् । त्यो बेला नेपालमा पूर्ण रूपमा आफ्नै मुद्रा चलनमा आएको थिएन । त्यो घटनाले राजा महेन्द्रलाई भारतीय मुद्राको प्रचलन हटाएर नेपाली मुद्रा मुलुकभर लागु गर्न अभिप्रेरित गर्यो ।’

उक्त सांकेतिक घटनाले राष्ट्र निर्माणमा गहिरो प्रभाव पारेको सहजै बुझ्न सकिन्छ । बेल्ट एण्ड रोड पुस्तकालयमा आयोजित कार्यक्रमले चाउ एन लाईको दूरदर्शी नेतृत्वप्रतिको श्रद्धासँगैै नेपाल–चीन जनस्तरीय सम्बन्धप्रतिको दृढतालाई पुनः प्रतिबद्ध बनाएको बताइन्छ । तत्कालीन प्रधानमन्त्री चाउले त्यतिबेलै भन्नुभएको थियो, ‘इतिहास नबुझी भविष्य लेख्न सकिन्न ।’ आज त्यो इतिहास काठमाडौंमा भावनामा, सम्झनामा र साझा सपनामार्फत पुनर्जीवित भएको सहभागीहरुको निश्कर्ष छ ।

उक्त कार्यक्रम करेन्ट पब्लिकेशन र चीनको यिलिन प्रेसले संयुक्त आयोजना गरेका हुन् ।

टिप्पणीहरू