श्रमिकलाई शुभकामना दिँदा प्रधानमन्त्रीलाई उडाइयो

श्रमिकलाई शुभकामना दिँदा प्रधानमन्त्रीलाई उडाइयो

आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । विविध कार्यक्रम गरेर १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । पेशागत मर्यादा र सम्मानको प्रत्याभूमि तथा अधिकारका लागि श्रमिकहरुले गरेको योगदानको सम्झनामा हरेक वर्षको मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमा स्ट्याट्स लेख्दै सम्पूर्ण श्रमिकलाई दिवसको शुभकामना दिनुभएको छ । 

सडकमा झाडु लगाइरहेको तस्बिर सेयर गर्दै उहाँले लेख्नुभएको छ,‘आज मे १–अन्तर्राष्ट्रिय श्रमिक दिवस । देशअघि बढेको छ श्रमिकको पसिनाले,समाज बाँचेको छ,उनीहरुको समर्पणले । श्रमिकहरुको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुरु गर्यौं, व्यङ्ग्य र ट्रोलहरु सहनुपर्यो । तर, आज ती नकारात्मक आवाजहरुभन्दा माथि उठ्दै–२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् ।’

त्यसैगरी, उहाँले श्रम र श्रमिकलाई सम्मान गर्न आग्रह गर्नुभएको छ । अगाडि थप्नुभएको छ,‘अब श्रम मात्र होइन्, श्रमिकको भविष्य पनि सुरक्षित छ । छोराछोरीको उज्यालो मुहार, आमाबुवाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं । श्रमलाई सम्मान गरौं, श्रमिकलाई सम्मान गरौं । जय श्रमिक, जय देश !’

श्रमिक दिवसको अवसरमा शुभकामना दिनुभएका प्रधानमन्त्री ओली फोटोको कारण मजाकको पात्र बन्नुभएको छ । कतिपयले उहाँले ‘नौटंकी’ देखाएको आरोप लगाएका छन् भने कतिपयले उहाँको क्षमता नै सडक बढार्ने भएको बताएका छन् । 

"कस्तो छ अमेरिका"ले लेखेको छ,‘बल्ल आफ्नै क्षमताअनुसारको तस्बीर देख्न पाइयो । तपाईँको काम यही तस्बीरमा जस्तो हो,प्रधानमन्त्री हुन त तपाईँमा क्षमता छैन ।’ तारादीप घर्तीले कुचो समातेर ‘स्टण्ट’ गर्दैमा देश नबन्ने उल्लेख गर्नुभएको छ । लेख्नुभएको छ,‘कुचो समातेर स्टण्ट गर्दैमा देश बन्दैन प्रधानमन्त्रीज्यू ।’

स्वाङ पारेको तस्बीरले बुद्धिमत्ता नदेखाउने डा. अरुणा उप्रेतीको भनाइ छ । ‘यस्तो स्वाङ परेको फोटोले बलको बुद्धिमत्ता त देखाउँदैन । हाँस्ने मेलोचाँहि मिल्छ जन जनलाई’,उहाँले भन्नुभएको छ ।

टिप्पणीहरू