भारतीय नेताले ओलीलाई ‘पूर्व प्रधानमन्त्री’ बनाइदिएपछि.....
नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले चार जना पूर्वप्रधानमन्त्री र विभिन्न मन्त्रीहरुसँग भेटवार्ता गरिसकेका छन् । बुधबार बिहान काठमाडौँ ओर्लिएका उनले सोमबार नयादिल्ली फर्कनु अघि केही मन्त्री र विपक्षी दलका नेतासँग भेटवार्ता गर्दैछन् ।
भारतको सामान्य तहको कर्मचारीले समेत यहाँ राष्ट्रपति, प्रधानमन्त्रीलाई सहजै भेट पाउने अवस्था रहेको स्थितिमा नेपाल मामिलाका जानकार चौथाइवाले राजनीतिक नेतृत्वसँग भेटवर्ता गर्नुलाई सामान्य सामान्य हो । तर, उनको एउटा सार्वजनिक टिप्पणी भने विवादमा परेको छ ।
चौथाइवालेले आज बिहान ११ बजेतिर विभिन्न भेटघाटका तस्वीर सार्वजनिक गर्दै स्टाटस लेखेका थिए । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'पूर्वप्रधानमन्त्री' सम्बोधन गरिएको छ भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई 'वर्तमान प्रधानमन्त्री' भनिएको छ ।
नेताहरुसँगको छुट्टाछुट्टै भेटवार्ताको फोटोलाई एक ठाउँमा जोडेर उनले लेखेका छन्, 'काठमाडौँमा पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाजी, वर्तमान प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डजी र पूर्वप्रधानमन्त्री श्री माधव नेपालजी ।'
उक्त पोस्टमा कमेन्ट गर्नेहरुले 'मिसइन्फर्मेशन’ भनेपछि सच्याएर अहिले ओलीलाई वर्तमान र प्रचण्डलाई पूर्वप्रधानमन्त्री सम्बोधन गरिएको छ । चौथाइवालेले प्राविधिक त्रुटीका कारण प्रधानमन्त्रीको नाम गलत लेखेका हुन् वा जानाजान ? त्यो उनैले जान्ने कुरा भयो । तर, 'छिमेक पहिलो' नीति लिएको सत्तारुढ दलको शीर्ष नेताले नेपालको प्रधानमन्त्रीको नाम थाहा नभएर गलत लेखे होलान् भन्ने विश्वास गर्न सकिंदैन ।
वर्तमान कांग्रेस-एमाले गठबन्धन सरकारप्रति सन्तुष्ट नरहेको भनिएको भारतीय संस्थापनले अप्रत्यक्षरुपमा ओलीलाई प्रधानमन्त्री स्वीकार नगरेको सन्देश दिन खोजेको त होइन ? भन्ने प्रश्न पनि उठेको छ । जे भए पनि यस मामिलामा चौथाइवालेको कूटनीतिक अल्पज्ञान भने उदांगो भएको छ ।
टिप्पणीहरू