उच्च सतर्कतामा पाकिस्तानी सेना, इस्लामावादमा इरानी विदेशमन्त्री
भारत र पाकिस्तानबीच तनाव बढ्दै गएपछि मध्यस्थताको लागि इरानले प्रयास थालेको छ । गत महिना जम्मू काश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि दुई मुलुकबीचको सम्बन्ध निकै खराब अवस्थामा पुगेको छ ।
भारत र पाकिस्तानबीच युद्ध हुनसक्ने आकलन भइरहेको बेलामा इरानका विदेशमन्त्री पुगेका छन् । मन्त्री अब्बास अराघचीले उच्च पाकिस्तानी अधिकारीहरुसँग भेट गर्दै आणविक सशस्त्र छिमेकीहरूबीचको तनाव कम गर्न विभिन्न प्रस्ताव राख्ने बताइन्छ ।
इरानी विदेशमन्त्रीले पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी, प्रधानमन्त्री शाहबाज सरिफ र आफ्ना समकक्षीलाई भेट्दै छन् । भारतले आक्रमण गर्नसक्ने गोप्य सूचना प्राप्त भएको भन्दै पाकिस्तानले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ ।
भारतले पहलगाममा पर्यटकहरुमाथि भएको आक्रमणको दोष पाकिस्तानलाई लगाउँदै आएको छ । तर, पाकिस्तानले भारतको दोषारोपणमा कुनै सत्यता नभएको बरु भारतले पाकिस्तानभित्रै आतंकवादी क्रियाकलाप घुसाउने रणनीति बनाएको भन्दै विभिन्न प्रमाण देखाउँदै आएको छ ।
दुई मुलुकबीच बढ्दै गएको तनाव कम गर्न अमेरिकालगायत विश्वका धेरै मुलुकले भारत र पाकिस्तानलाई आग्रह गरेका छन् ।
टिप्पणीहरू