डिआइजीले यसरी ओसारे ४ कराेड

डिआइजीले यसरी ओसारे ४ कराेड

बुढानीलकण्ठ दरबार दाहिना भएपछि सकिन्छ भन्ने उदाहरण सशस्त्र प्रहरीका डिआइजी दिपेन्द्र कुँवरलाई हेरे पुग्छ । शेरबहादुर देउवाका पिए भानु देउवाको बहिनी–ज्वाइँ कुँवरलाई व्यवस्थापन गर्न नाममा समयावधि बाँकी छँदै लुम्बिनी प्रदेश प्रमुख प्रदीप पाललाई सुदूरपश्चिमतिर लखेटिएको छ । साधारणतया प्रदेश प्रमुखमा डिआइजीले एक वर्ष काम गर्ने व्यवस्था भए पनि ५ महिना नपुग्दै यसनिम्ति त्यहींका पाललाई लखेटेर कुँवरलाई पठाइएको हो । सेकेण्ड म्यान एसएसपी कमल तिम्सिनालाई पनि झिकेर ठाउँ खाली नै राख्ने काम भएको छ । फोर्समा कुँवरभन्दा तिम्सिना वरिष्ठ र काविल भएकाले कसैलाई अप्ठ्यारो नहोस् भन्दै शिक्षालयमा सरुवा गरिएको बताइन्छ । 

हल्चोकको मालदार ठाउँ मानिने प्रबन्ध विभागमा जीवनका धेरै स्वर्णिमकाल बिताएका कुँवर मात्रै नभएर जो–कोही प्रहरी, सशस्त्रदेखि निजामती अन्तर्गत भन्सार, राजश्व र सिडिओहरूको निम्ति आकर्षक गन्तव्य बन्दै आएको छ । सशस्त्रकै पूर्व डिआइजी किशोर प्रधानको नगद काण्ड उदाहरणको रूपमा चर्चित छ । दुई वर्षअघि किशोर प्रधानले चार महिनामा बटुलेको चार करोड नगद हवल्दार ड्राइभरमार्फत् गाडीमा राखेर एउटा सुपरमार्केटका साहुलाई बुझाउन चन्द्रौटाबाट काठमाडौं पठाएका थिए । संयोगले त्यतिधेरै काम बोकेर बोकेर हिँडेका चालक बाटोमा गाडी बिग्रेपछि बीचैमा रोकिए ।

त्यसबेला प्रधानले चालकलाई १५–१५ मीनेटमा फोन गरेर सोधपुछ गरिरहन्थे । पैसा हराउँछ कि, कुरा खुल्छ कि भन्दै पटकपटक चिन्ता पोखिरहन्थे । अहिले त्यस्तो पैसा फल्ने ठाउँमा भण्डार शाखाबाट कुँवरलाई किन पठाइयो होला ? लाटोले पनि बुझ्नसक्छ । सात प्रदेशमध्ये एक ठाउँबाट मात्रै ३–४ महिनाको कमाइ चार चार करोड संकलन हुन्छ र त्यस्तो रकम अप्रत्यक्ष रूपमा सुपरमार्केटमा लगानी हुन्छ भने लक्ष्यअनुसार कसरी सरकारी राजश्व उठ्न सक्छ ।

यस्तै, पैसाको बलमा प्रधानले दरबन्दी थपेर एआइजीमा बढुवा हुन अनेक उपाय लगाए तर बीचैमा प्रचण्डको सरकार ढलेका कारण सफल हुन सकेनन् । त्यसका लागि गोर्खाली नारायणकाजी श्रेष्ठको भिटोदेखि बन्दीपुरे कांग्रेस परिवारको नातासमेत लगाउन भ्याए । 

सशस्त्र प्रहरीभित्र यस्तै फेरबदलको मेसोमा डिआइजी कुमार न्यौपानेलाई पूर्व पठाइएको छ । उनी फागुनमा निवृत्त हुँदै छन् । कोशीबाट शम्भु सुवेदीलाई स्टाफ कलेजको जिम्मेवारी दिइएको छ । एसएसपी विकास घिमिरेलाई प्रवन्ध शाखाको जिम्मेवारी दिइएको छ । उनीमाथि केही वर्षअघि डाक्टर श्रीमतिलाई यौनदुव्र्यवहार गरेको आरोपमा लाइबेरियामा खटेका एसपीलाई हटाउने र त्यस ठाउँमा आफैं निमित्त हाकिम हुने षड्यन्त्रसमेत रचे । छानवीन हुँदा जोइपोइ उल्टै कारवाहीमा परेको स्रोतको दाबी छ ।
 

टिप्पणीहरू