राजावादी आन्दोलनमा आगो झोस्ने थप एक जना पक्राउ

गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादी आन्दोलनको क्रममा आगजनी र तोडफोड गर्ने थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार खेमराज सेढाईँलाई नियन्त्रणमा लिएको छ ।
परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार ७२ वर्षीय सेढाईँलाई आज काठमाडौंबाट समातिएको हो । नुवाकोटको लिखु गाउँपालिका–३, घर भएका उनी काठमाडौं महानगरपालिका–७ बस्दै आएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ‘कमाण्डर’ तोकिएको आन्दोलनमा ४६ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । त्यसैगरी, एक पत्रकारसहित दुई जनाको ज्यान गएको छ । प्रहरीले प्रसाईँलाई हिरासतमा राखेर राज्यविरुद्धको कसूर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू