भारतको पक्षमा खुल्यो कांग्रेस, गभर्नर नियुक्तिमा देउवाको चासो
फाइल फाेटाे
सत्तारुढ नेपाली कांग्रेस पाकिस्तानविरुद्ध भारतीय सैन्य कारवाहीको पक्षमा खुलेको छ ।
आज बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आतंकवादविरुद्धको लडाइँमा भारतलाई साथ दिनुपर्ने निचोड निकालेको हो । प्रवक्ता डा. प्रकाशशरण महतले आतंकवादीहरुको नौ अड्डामा भारतको सैन्य कारवाहीलाई पार्टीले ‘जायज’ ठानेको बताए ।
बैठकका छलफलबारे जानकारी दिदैँ सञ्चारकर्मीसँग भने, ‘आतंकवादविरुद्ध हुने कारवाहीलाई जायज ठान्छौ, आतंकवादीको कुनै नाम, जात, धर्म, ठेगाना हुँदैन । आतंकवादलाई कसैले प्रश्रय नदियोस् भन्ने चाहन्छौँ ।’
बैठकमा दुई छिमेकी देशबीचको तनावपूर्ण सम्बन्धले नेपाललाई पर्नसक्ने असरबारे पनि छलफल भएको महतले जानकारी दिए । ‘सीमा सुरक्षाको कुराहरुमा सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल भएको छ, पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ, अझै हुन सक्छन्, यो फुल स्केल युद्ध नहोस् भन्ने पक्षमा छौँ’, उनले थपे ।
सभापति शेरबहादुर देउवाले समसामायिक घटनाक्रमबारे बैठकलाई संक्षेपमा ब्रिफिङ गरेका थिए । गठबन्धनमा कुनै समस्या नरहेको प्रष्ट्याउँदै उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विवादबारे पनि धारणा राखेको प्रवक्ता महतले जानकारी दिए ।
‘सभापतिज्यूले गभर्नर नियुक्ति ढिला भएकोमा गम्भीर चिन्ता र चासो प्रकट गर्नुभयो, सहमति गरेर टुंगो लगाउने भन्नुभयो, उक्त पद सक्षम र व्यावसायिक व्यक्तिको हातमा पुग्नुपर्ने उहाँ (देउवा)को विचार छ’, उनले भने ।
टिप्पणीहरू