अरुको सदर,भट्टका हकमा म्याडम धरमर

अरुको सदर,भट्टका हकमा म्याडम धरमर

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा हलो अड्काएको आरोप झेल्न विवश कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले आफू अनुकूलका फाइलहरु भने भटाभट सदर गरेको तथ्य खुलेको छ । सत्तारुढ दल नेपाली काँग्रेस र एमालेबीच बैंकका कार्यकारी निर्देशक गुणाकर भटट्लाई गभर्नरमा उकाल्न सहमति भए पनि तिम्सिनाले उनको राजीनामा स्वीकृत नगरिदिँदा एक महिनादेखि पद रिक्त छ । बैंक ऐनले कार्यकारी निर्देशक सोझै गभर्नरमा सिफारिस हुन नसक्ने कानुनी व्यवस्था गरेको हुँदा भट्टले राजनीतिक सहमतिसँगै राजीनामा दिएका हुन् ।

अघिल्ला गभर्नर महाप्रसाद अधिकारीले चैत २४ गते अवकाश पाएपछि भोलिपल्ट डेपुटी निलमलाई अर्थ मन्त्रालयले कामुको जिम्मा दिएको थियो । नोटमा दस्तखत गर्ने बाहेकका प्रशासनिक निर्णय गर्ने अधिकार कायम मुकायमलाई हुन्छ । नजीरको रुपमा २०६४ असोजमा तत्कालीन कामु गभर्नर कृष्णबहादुर मानन्धरलाई क्याबिनेटले छुट्टै निर्णय गरेर नोटमा दस्तखतको अधिकार थपेको थियो । 

गभर्नर विजयनाथ भट्टराईलाई अख्तियारले विवादास्पद ढंगबाट विशेष अदालतमा मुद्दा दायर गरेपछि मानन्धर अहिले निलमजस्तै त्यो बेलामा कायम मुकायम गभर्नर भएका थिए । त्यसबेला उनले अधिकृत तहका कर्मचारीको अवकासदेखि सञ्चालक समितिको बैठक अध्यक्षता, विदेश तथा स्वदेशमा देशको प्रतिनिधित्व गरे । एक महिनादेखि निलमले पनि भट्टको राजीनामा स्वीकृतिबाहेक अरु सबै काम मानन्धरले झैँ गरेको देखिन्छ । उनलाई नोटमा दस्तखतको अधिकार भने क्याबिनेटले दिएको छैन ।

उनै म्याडमले उपस्थित क्षेत्री र भण्डारीलाई अवकाशको प्रमाणपत्र दिँदै दोसल्ला ओढाइन् । प्रमाणपत्रमा पनि कायम मुकायम गभर्नरकै दस्तखत देखिन्छ । भण्डारी  र क्षेत्रीबाहेक अरु दुई जना २०५४ सालमा बैंक प्रवेश गरेका निलमका एउटै ब्याची हुन् ।

कार्यकारी निर्देशकको राजीनामा पूर्ण गभर्नरले मात्रै स्वीकृत गर्नसक्ने भन्दै कायम मुकायम गभर्नर तिम्सिनाले राखेको अडानबारे बैंकका अधिकारीहरु भन्छन्, ‘यो लंगडो तर्क हो । नियमानुसार उहाँले भट्टको राजीनामा अस्ति नै स्वीकृत गर्नुपथ्र्यो । अझै  गर्दिंन भनेपछि उहाँको बौद्धिक र कानुनी क्षमतामाथि प्रश्न उठ्न थालेको छ ।’ स्रोतका अनुसार गत चैत अन्तिम साता बैंकका चार जना कार्यकारी निर्देशकले अवकाश पाएका थिए । उनीहरुलाई फागुन अन्तिम सातादेखि एक महिने अनिवार्य बिदामा बसेपछि अवकाश दिइएको हो ।

मानव स्रोत व्यवस्थापन विभागका अनुसार कार्यकारी निर्देशकहरु क्रमशः सुमन अधिकारी, रामबहादुर मानन्धर, मुकुन्दकुमार क्षेत्री र पीताम्बर भण्डारीको अवकाशको टिप्पणी म्याडमले स्वीकृत गरेकी हुन् । ‘विभागले उठाएको उहाँहरुको अनिवार्य अवकाशको फाइलमा पेन्सन रकम तोकिएको छ । डेपुटीबाट सिफारिस हुँदै गएको फाइल म्याडमले सदर गर्नुभएको हो,’ स्रोतले भन्यो । उक्त फाइल चैत २५ गते निलम कायम मुकायम भएपछि सदर भएको थियोे ।

त्यसको झण्डै २० दिनपछि वैशाख १४ गते बैंकले ७० औं वार्षिकोत्सव मनायो ।  बालुवाटारस्थित बैंक परिसरमा आयोजित कार्यक्रममा उनै म्याडमले उपस्थित क्षेत्री र भण्डारीलाई अवकाशको प्रमाणपत्र दिँदै दोसल्ला ओढाइन् । प्रमाणपत्रमा पनि कायम मुकायम गभर्नरकै दस्तखत देखिन्छ । भण्डारी र क्षेत्रीबाहेक अरु दुई जना २०५४ सालमा बैंक प्रवेश गरेका निलमका एउटै ब्याची हुन् । त्यो दिन अधिकारी र मानन्धर म्याडमको हातबाट प्रमाणपत्र बुझ्न बैंक गएनन् ।

अहिले भट्टको राजीनामा कायम मुकायम गभर्नरले स्वीकृत गर्न हुँदैन भन्ने उनको अडानमा कुनै तुक नभएको बैंकको कानुन महाशाखाको बुझाइ छ । स्रोत भन्छ, ‘सबैलाई डाँकोले खानुहुन्छ । यतिखेर कायम मुकायम भए पनि संस्था प्रमुख उहाँ नै हो,नियमले त्यसरी रोक्न मिल्दैन भन्ने हो भने के के गर्नुहुन्छ के के । गतवर्ष प्रि बजेट गोष्ठीमा नेपालगञ्ज जाँदा मीठो भात नखुवाएको निहुँमा एकजना अधिकृतलाई विभागै सरुवा गरिदिनुभएको थियो ।’

उनीमाथि नपाएको पगरी गुथेको आरोप पनि लागेको छ । बैंकको वेवसाइटमा कायम मुकायम गभर्नरको नियुक्ति मिति उल्लेख गर्दै पदेन सदस्य अर्थसचिवभन्दा माथि आफूलाई राखिएको छ । बैंकमा दुई जना डेपुटी हुने व्यवस्थालाई लत्याउँदै एउटा खाली राखिएको छ । जबकि गभर्नरको पद रिक्त देखिन्छ, डेपुटीको हुँदै होइन ।

‘यस्तो अवस्था किन आयो ?’ भनेर जनआस्थाले राखेको जिज्ञासामा एक जना भूतपूर्व गभर्नर भन्छन्, ‘ती म्याडमका नराम्रो कामको दोष प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्छ । चार वर्षअघि वरिष्ठ र क्षमतावान कार्यकारीहरु हुँदाहुँदै राजनीतिक दाउपेच,शीतल निवासलाई रिझाउने एउटा माध्यम र दुर्गा प्रसाईंहरुको आग्रहलाई व्यवहारमा परिणत गर्दै डेपुटी नियुक्त गरिएको थियो । कागती रोपेर आँप खोजेको परिणाम हो यो ।’

टिप्पणीहरू