साउदी मन्त्री दिल्ली हुँदै इस्लामाबाद, पाकिस्तानी ड्रोन विफल भएको भारतीय दाबी

साउदी मन्त्री दिल्ली हुँदै इस्लामाबाद, पाकिस्तानी ड्रोन विफल भएको भारतीय दाबी

भारत र पाकिस्तानबीच चर्केको तनाव रोक्न साउदी अरेबियाले पहल गरेको छ । त्यहाँबा विदेश राज्यमन्त्री अब्देल अल जुबियर अस्ति नयाँ दिल्ली र हिजो इस्लामाबाद पुगेपछि स्वेदश फिर्ता भएका छन् । उनले दुबै मुलुकको नेतृत्वलाई सैन्य आक्रमण रोकेर वार्ता र कूटनीतिक माध्यमलाई अघि बढाउन सुझाएको बताइन्छ । 

साउदी अरेबियाको विदेश मन्त्रालयले भारतले पाकिस्तानका तीन वटा हवाई अखडामाथि क्षेप्यास्त्र र ड्रोन प्रहारको लक्ष्य राखेको खबर बाहिरिनुअघि विज्ञप्ति जारी गरेको हो । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले आज बिहान सबेरै आयोजना गरेको प्रेस सम्मेलनमा भारतले रावलपिण्डी नजिकैको चाक्लाला, मुरिद र राफिकी हवाइ अखडालाई आक्रमणको निशाना बनाएको बताएका थिए । त्यसपछि लगत्तै पाकिस्तानले भारतविरुद्ध ‘बुन्यान अल मार्सोस’ अपरेसनको घोषणा गरेको हो ।

साउदी अरेबियाका विदेश राज्यमन्त्रीले भारतीय विदेशमन्त्रीसँग भेट गरेका थिए भने पाकिस्तानमा उनले कोसँग भेटवार्ता गरेको भन्नेबारे केही बताइएको छैन । भारतले पनि आफ्ना २६ स्थानमा पाकिस्तानले प्रहारको लक्ष्य राखेको दाबी गरेको छ । भारतीय रक्षा मन्त्रालयले पाकिस्तानले काश्मिरदेखि गुजरातसम्मका २६ स्थानमा गएराति ड्रोन आक्रमणको प्रयास गरेको तर ती सबैलाई बिफल तुल्याएको जनाएको छ ।
 

टिप्पणीहरू