बजेटअघि नै संसदमा डिपिआर पेश

बजेटअघि नै संसदमा डिपिआर पेश

सत्ता साझेदार नेपाली कांग्रेसका सांसद दिपक गिरीले आर्थिक वर्ष ०८२/०८३ को बजेटमा गृहजिल्ला दाङको टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि रकम छुट्याईदिन प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उक्त परियोजना वर्षौदेखि बजेट भाषणमा मात्र सीमित रहँदै आएको उल्लेख गर्दै उनले यो वर्ष बजेट नछुट्याए जे पनि हुनसक्ने चेतावनी दिए । 

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक दाङ पुगेर विमानस्थल स्तरोन्नतिको सपना देखाएको तर त्यो पुरा नहुँदा जनताले आफूलाई गाली गरिरहेको अवगत गराए । 

‘अहिलेका प्रधानमन्त्रीज्यू र दुई जना पूर्व प्रधानमन्त्रीज्यूहरुले हरेक पटक दाङ पुग्दा त्यो एयरपोर्ट यसै वर्ष बन्छ भनेर सपना दखाउने, अनि काम अघि बढेन भनेर जनताले मलाई गाली गरिरहेका छन्’, उनले भने, ‘पूर्व अर्थमन्त्रीहरु डा. प्रकाशशरण महत, वर्षमान पुन अनन्त, जनार्दन शर्मा र हालका अर्थमन्त्री (विष्णु पौडेल)ज्यूलाई कति पटक भनेँ भनेँ, तर अहिलेसम्म फुस्सा ।’

सांसद गिरीले बजेटमा हरेक वर्ष सरकारले ठग्दै आएको भन्दै विमानस्थल स्तरोन्नतिको डिपिआर समेत संसदमै देखाए । ‘एयरपोर्टको धावनमार्ग ७५० मिटर छ, त्यसलाई बढाएर १५०० मिटर पुर्याउनुपर्नेछ, तीन अर्ब ४२ करोडको लागत अनुमान छ, अत्ति भएपछि आज मैले डिपिआर नै ल्याएको छु, (देखाउँदै)’, उनले थपे ।

उक्त परियोजना नीति तथा कार्यक्रममा परे पनि बजेटको सुनिश्चित नभएको भन्दै उनले प्रधानमन्त्रीलाई सचेत पनि गराएका छन् । ‘प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीन्यूलाई सुनाउन चाहन्छु, यो वर्ष पनि बजेट पार्न नसकिएको नाटक नदेखाइयोस्, मलाई फेरि यसरी कराउन नपरोस्’, सांसद गिरीले भने ।

टिप्पणीहरू