कक्षा १२ को प्रश्नपत्र आउटसँगै परीक्षा रद्द

कक्षा १२ को प्रश्नपत्र आउटसँगै परीक्षा रद्द

यतिखेर मुलुकभर कक्षा १२ को परीक्षा चलिरहेको छ । राजधानी केन्द्रित शिक्षक आन्दोलनका कारण तोकिएको मितिभन्दा १० दिनपछि वैशाख २१ गतेदेखि शुरु भएको परीक्षा जेठ २ गते सकिँदै छ । देशभरबाट परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी छन् । एक हजार ५९१ परीक्षा केन्द्र तोकिएकोमा करिब २० हजार सुरक्षाकर्मी खटाइएको छ । अहिलेसम्म चार वटा विषयको परीक्षा सम्पन्न भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हालसम्म एकाध कानुन उल्लंघनका घटना भएको छ । जसमध्ये एउटा घटना गम्भीर प्रकृतिको छ । प्रहरीले केन्द्राध्यक्ष र सह–केन्द्राध्यक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । वैशाख २५ गते काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको साइपाल एकेडेमीबाट होटल म्यानेजमेण्टको प्रश्नपत्र बाहिरियो । 

‘हाई’ नामक इन्स्टाग्राम ग्रुपमा बाहिरिएको प्रश्नपत्र सेयर भएको थियो । प्रश्नपत्र ‘लिक’ भएपछि एक परिक्षार्थी महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज पुगे । बसुन्धारास्थित मोर्गन इन्टरनेशनल स्कुलमा अध्ययनरत राज तामाङ्गको परीक्षा केन्द्र नयाँबजारमा रहेको मनास्लु पब्लिक स्कुलमा परेको थियो । उनले छानबिनको माग गर्दै उजुरी दिए । 

उजुरीमा भनिएको छ,‘मेरो अध्ययन ग्रुपमा प्रश्नको पत्र इन्स्टाग्राम ग्रुपमा (हाई) नामको ग्रुपमा सुजल श्रेष्ठले फरवार्ड गरेको पाए उक्त ग्रुपमा बिहान ७ः३७ मा सुजल श्रेष्ठले होटल म्यानेजमेण्ट र बिजनेश म्याथम्याटिक्सको प्रश्नपत्र फरवार्ड गरेपछि परीक्षापश्चात् महानगरीय प्रहरी वृत्त पुगेर उजुरी गर्न गए । मैले परीक्षा दिनुपर्ने भएकाले मोबाइल झोलामा राखेको थिएँ ।’

उनले निवेदनमा सो प्रश्नपत्र साइपाल एकेडेमीबाट बाहिरिएको उल्लेख गरेका छन् । लेखेका छन्,‘त्यस प्रश्नपत्रको पृष्ठ भागमा साइपाल एकेडेमी धुम्बाराहीको छाप देखिन्छ । परीक्षाजस्तो संवेदनशील विषयमा परीक्षा अगाडि बाहिर पठाउने पेपरमा संलग्न व्यक्तिहरुलाई आवश्यक कारबाही गरिपाऊँ । मैले अनुसन्धानमा सघाउने गरी मेरो मोबाइल यही निवेदन साथ पेश गरेको छु ।’

त्यसपछि बोर्ड र प्रहरीले अनुसन्धान थाल्यो । घटनामा संलग्न देखिएका साइपालका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष गणेश जोशी, सहायक प्रधानाध्यापक तथा सहायक केन्द्राध्यक्ष संज्ञा खतिवडा, परीक्षा डिपार्टका जीवनकुमार मडै र कर्मचारी रोशन कार्की पक्राउ परेका छन् । उनीहरुले मिलिभगतमा तस्बिर खिचेर पठाएको भनिएको छ । चारै जना महाराजगञ्ज प्रहरीको हिरासतमा छन् । 

त्यसपछि बोर्डले विज्ञप्ति नै जारी गर्यो । जसमा लेखिएको छ,‘मिति २०८२ साल वैशाख २५ गते सञ्चालित कक्षा १२ को परीक्षामा परीक्षाको मर्यादाविपरीत कार्य गरेको पाइएकोले साइपाल एकेडेमी मावि, सुकेधारा काठमाडौं केन्द्र नम्बर १५३४ का केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्काशन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको व्यहोरासमेत जानकारी गराइन्छ ।’

उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । उनका अनुसार पक्राउ परेकाहरुमाथि आज म्याद थप गर्ने तयारी भइरहेको छ । जनआस्थासँग उनले भने,‘चार जनामाथि पहिले पाँच दिनको म्याद थप भएर अनुसन्धान गरिएको थियो । आज पुनः म्याद थप गरिँदैछ । सबै महाराजगञ्ज प्रहरीको हिरासतमा छन् ।’

विद्यार्थीहरुमाथि पनि अनुसन्धान भइरहेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए । ‘प्रश्नपत्र बाहिर आएपछि त्यँहाका केन्द्राध्यक्षलगायत पक्राउ परेका छन् । विद्यार्थीमाथि अनुसन्धानका लागि हामीले सिआईबीलाई पत्राचार गरेका छौं । अनुसन्धान जारी छ’,उनले भने । त्यस्ता विद्यार्थीको परीक्षा रद्द गरिने उनको भनाइ छ । 

यता, नाम चलेको एम्बिसन कलेजको दुई परीक्षार्थीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । उनीहरुको परीक्षा रद्द भएको छ । भक्तपुरस्थित काठमाडाैं वर्ल्ड स्कुलबाट पनि प्रश्नपत्र आउट भएको थियो । तर, अनुसन्धानको क्रममा सो प्रश्नपत्र विगतको वर्षको भएको खुलेको हो । परीक्षा नियन्त्रक शर्माका अनुसार सबैभन्दा ठूलो घटना साइपालको हो । आचारसंहिता उल्लंघन गर्ने परीक्षार्थीको परीक्षा रद्दका घटनाहरु भइरहेको उनले जानकारी दिए । 

भन्छन्,‘साइपालको घटना हालसम्म भएकोमध्ये ठूलो हो । अन्य परीक्षा केन्द्रमा छिटफुट घटना भएका छन् । आचारसंहिता उल्लंघन गर्ने परीक्षार्थीको परीक्षा रद्द भइरहेको छ ।’ शिक्षा ऐन, २०२८ को दफा १७ मा दण्ड सजायबारे उल्लेख छ । सो दफाले प्रश्नपत्रको गोपनीयता भंग गरेमा, उत्तरपुस्तिका परीक्षण गर्दा लापरवाही वा गैरजिम्मेवारपूर्ण कार्य गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्वीकृतबेगर प्रवेश गरेमा, परीक्षाफल प्रकाशनमा अनियमितता गरेमा, अरुको तर्फबाट परीक्षा दिएमा, परीक्षाको मर्यादा भंग हुने कार्य गरेमा कसूर हेरी एक लाख रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुने व्यवस्था गरेको छ । 

रोक लगाएपनि मोबाइल लैजाने क्रम जारी 

परीक्षामा मोबाइल, स्मार्ट वाचलगायतका ईलेक्ट्रोनिक्स उपकरण लैजान रोक लगाइएको छ । तैपनि परीक्षार्थीले नमानेपछि बोर्डले बाध्य भएर सूचना जारी गरेर परीक्षार्थी र अभिभावकलाई सचेत गराएको छ । सूचनामा भनिएको छ‘कक्षा १२ को वार्षिक परीक्षामा परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायतका ईलेक्ट्रोनिक्स डिभाइस लैजान पूर्ण रुपमा निषेध गरिएको व्यहोरा यसअघि नै सूचित गरिएकोमा केही परीक्षा केन्द्रहरुमा मोबाइलको प्रयोग गरेको पाइएकोले त्यस्ता मोबाइलहरु जफत गरी सम्बन्धित परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

परीक्षा केन्द्रबाट मोबाइल समात्ने क्रम जारी रहेको परीक्षा नियन्त्रक शर्माले बताए । ‘हामीले धेरै मोबाइल जफत गरिसक्यौं । तर, सूचना जारी गर्दापनि मोबाइल लैजान छोडिएको छैन्’,उनले भने ।

यसअघि परीक्षाको पहिलो दिन भक्तपुरस्थित वर्ल्ड स्कुलले पनि प्रश्नपत्र आउट गरेको खबर बाहिरिएको थियो । उक्त स्कुलका विद्यार्थीले सामाजिक सञ्जालमा प्रश्नपत्र आउट गरेपछि परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालय भक्तपुरले तत्काल अनुसन्धान र छानबिन गरेको थियो ।

 

टिप्पणीहरू