विश्व पौडेलविरुद्धको रिट र गुणाकरको राजीनामा बेवारिस

विश्व पौडेलविरुद्धको रिट र गुणाकरको राजीनामा बेवारिस

गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित सर्वोच्च अदालतमा लगिएको रिट निवदेन न दर्ता भएको छ, न दरपीठ नै गरिएको छ । 

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले उक्त निवेदन सर्वोच्च अदालतमा हिजो बिहान १० बजे पेश गरेका थिए । तर दुई दिनसम्म उक्त निवेदन दर्ता या दरपीठको निर्णय नभएको अवस्थामा देखिन्छ ।

अधिवक्ताद्वयद्वारा यसअघि गभर्नर नियुक्तिमा उमेर हदको मापदण्ड हटाइएकोमा दायर रिट निवेदनमा वैशाख १७ गते अन्तरिम आदेश जारी भई संशोधित मापदण्डको कार्यान्वयन रोकिएको अवस्था छ । गभर्नरको नियुक्ति मापदण्ड सर्वाेच्चका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले त्यसअघि वैशाख २ गते अल्पकालीन अन्तरिम आदेशपछि रोकिएको थियो ।

बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्टले वैशाख ५ गते दिएको राजीनामा स्वीकृत भएको छैन । उनले चैत ५ गतेदेखि लागु हुनेगरी कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनालाई बुझाएको राजीनामा पनि २५ दिनदेखि अलपत्र अवस्थामा छ । गत साता  नेपाली कांग्रेसले आफ्नै पूर्व सांसद उम्मेदवार तथा गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेललाई गभर्नरमा सिफारिस गरेपछि उनको नाम विवादमा आएको हो ।

निवेदकद्वयले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ ले एक महिनाअघिदेखि सार्वजनिक रुपमा प्रक्रिया अघि बढाउनुपर्ने र दफा ३२ ले नीजि स्वार्थ हुननहुने व्यवस्था गरको छ भने शुसासन संचालन व्यवस्थापन तथा संचालन ऐन २०६४ को दफा १६ ले निर्णयमा पारदर्शीता हुनुपर्ने, दफा १७ ले निर्णय गर्दा आधार र कारण खोल्नुपर्ने र दफा १८ ले स्वार्थ बाझिएमा निर्णय गर्न नहुने, राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्ति हुन नसक्ने नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) को विपरितका व्यक्ति डा. विश्व पौडेललाई अघि सारेको भन्दै सुशासन ऐनको बर्खिलाफ नियुक्ति गर्न निमल्नै भन्दै उनको नियुक्ति रोक्न प्रतिषेधको आदेश समेत माग गरिएको छ ।

तीन सातादेखि राजीनामा स्वीकृत नगरिँदा वैशाख ५ गतेदेखि गुणाकरको पदीय हैसियत के भयो भन्नेबारे केन्द्रीय बैंकका कायम मुकायम गभर्नर तिम्सिना गैरजिम्मेवार देखिएकी छन् । गुणाकर न बहालरत, न भूतपूर्वको अवस्थामा छन् । उनको तलब, भत्ता, पेन्सन, सुविधा, बिदाबारे जिम्मेवार संस्थाका उच्च अधिकारीहरु गैरजिम्मेवार बनिदिँदा केन्द्रीय बैंक पनि इतिहासमै सर्वाधिक आलोचित भएको छ ।

टिप्पणीहरू