हिरोइनहरू भटाभट नयाँ फिल्म साइन गर्दै, दिव्याको पारिश्रमिक चर्चामा

नयाँ आर्थिक वर्ष संघारमा आइरहँदा नेपाली चलचित्र क्षेत्रमा रौनकता छाएको छ । एकातिर धमाधम नयाँ चलचित्र घोषणा भइरहेका छन् भने अर्कोतिर कलाकारको पारिश्रमिकको विषयले बजार गर्माएको छ ।
डेब्यु चलचित्रबाटै दर्शकको नोटिसमा परेकी भाग्यमानी अभिनेत्री दिव्या रायमाझी ‘राम नाम सत्य’मा अनुबन्धित भएकी छन् । उनले हालै निर्माण टिमसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको बुझिएको छ ।
माइकल चन्दले लेखेको उक्त चलचित्र साउन पहिलो साताबाट छायाँकनमा जाने बताइएको छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ निर्माता रहेको चलचित्रको लागि दिव्याले २० लाख हारहारीमा पारिश्रमिक लिएको दाबी निकटस्थहरुले गरेका छन् ।
निर्माण टिमकै एक सदस्यका अनुसार उनले चलचित्रको लागि एडभान्स रकमसमेत लिइसकेकी छन् । यस चलचित्रमा दिव्याले ६० को दशकका दुई अभिनेता विराज भट्ट र सुशिल क्षेत्रीसँग स्क्रीन शेयर गर्ने बताइएको छ ।
उता अभिनेत्री वर्षा राउत ‘महाराजधिराज’मा जोडिएकी छन् । उनले पनि निर्माण टिमसँग लिखित सम्झौता गरिसकेको बताइन्छ ।
यसअघि चलचित्रको लागि वर्षा शिवाकोटी अनुबन्धित भएकी थिइन् । अब राउतको इन्ट्रीले दुवै वर्षा एकै चलचित्रमा देखिने स्थिति बनेको छ । यी दुईको अलवा चलचित्रमा आर्यन सिग्देल र पल शाह पनि छन् ।
स्मरण रहोस्, बैशाख महिनामा मात्रै २० भन्दा बढी चलचित्रले विकास बोर्डबाट निर्माण इजाजत लिइसकेका छन् । सामान्यतया वार्षिक ५० देखि ८० चलचित्र प्रदर्शन हुँदै आएको नेपालमा यस वर्ष भने त्यो आँकडा बढ्ने अनुमान गरिएको छ ।
टिप्पणीहरू