सोल्टी छिरेका र छिर्न नपाएका माननीयहरुबीच चर्काचर्की

सोल्टी छिरेका र छिर्न नपाएका माननीयहरुबीच चर्काचर्की

भोक हुनेलाई खाने रहर, खानेलाई पचाउने कहर ! प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आज देखिएको तमासा हो, यो । समितिको वार्षिक प्रतिवेदन पारित गर्न माननीयहरु बिहान सिंहदरबारमा जुटेका थिए । प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखेर पारित गर्ने कायसूची थियो । तर, सत्तापक्षकै कतिपय सांसदले सोल्टी होटलमा तीन दिनसम्म चलेको ‘सगरमाथा संवाद’मा सहभागी नबनाइएको भन्दै गुनासो गरेपछि माहोल बिस्तारै तातेको बताइन्छ । 

सरकारले पहिलोपल्ट आयोजना गरेको ‘सगरमाथा संवाद’मा उक्त समितिबाट सभापति कुसुम देवी थापासहित नेपाली कांग्रेसकी सांसद चन्दा चौधरी, नेकपा (एमाले)की सांसद सरस्वती सुब्बा मात्रै सहभागी थिए । आजको बैठकमा अन्य सांसदहरुले ‘हामीलाई किन नलगेको ?’ भन्दै सभापति थापालाई र्याख्र्याख्ती पारेका हुन् । 

एक सांसदको भनाई उदृत गर्दै स्रोत भन्छ, ‘सभापतिज्यूले आफूलाई जो मनपर्छ त्यसलाई मात्र कार्यक्रममा लैजाने हो ? हामीलाई किन नलगेको ? हामी त झन् विषयगत समितिका सदस्य हौँ ।’ त्यस्तै, अर्की सांसदले पनि त्यसैमा थपिन्, ‘हामीलाई प्रतिपक्ष भनेर हेप्नुभएको हो ?’

सांसदहरुले एकपछि अर्को प्रश्न गरेपछि सभापति थापाले ‘तीन चार वटा मात्रै आएको थियो पास, क–कसलाई लानू !’ भन्ने जवाफ दिइन् । 

कार्यक्रममा सहभागी हुने अवसर पाएकी एमाले सांसद सुब्बाले भने दलीय व्यवस्थाको कारण सबै सदस्यहरुलाई सहभागी गराउन नसकिएको बाध्यता सुनाइन् । ‘तीन ठूला दललाई मात्र सहभगिताको लागि पत्र आएको थियो, यो दलीय कुरा हो, त्यसैले सबैलाई सहभागी गराउन सकिएन’, उनले जनआस्थासँग भनिन्, ‘उहाँहरु सहभागी हुन पाएनौँ भनेर कराउँदै हुनुहुन्छ, हामी सहभागी बनेर पनि केही गर्न सकिएन भनिरहेका छौँ ।’

टिप्पणीहरू