दलितहरुको आरोपले माननीयको मन धुजाधुजा

दलितहरुको आरोपले माननीयको मन धुजाधुजा

कोशी प्रदेश सभा सांसद सुनिता गुरुङ्ग राम हिजोआज दलित समुदायका कार्यक्रमहरुमा सहभागी हुन मन नलागेको बताउँछिन् । उनीहरुले लगाउने आरोपका कारण उनको मन मरेको हो । आफू उपस्थित त्यस्ता कार्यक्रममा सहभागीहरुले ‘यो दलित हैन, हाम्रो भाग मात्र खान आएकी हो’ भन्दा उनको मन कटक्क खान्छ । 

नेपाली काँग्रेसबाट दलित कोटामा सांसद बनेकी उनलाई काँग्रेसकै भ्रातृ संगठन नेपाल दलित संघ, कोशी प्रदेश समितिले अझै स्वीकारेको छैन । संघले सुनिता दलित नभएको र दलितसँग अन्तरजातीय विवाह गर्दैमा उनलाई दलितको कोटामा सांसद बनाउन नमिल्ने बताउँदै आएको छ । उनीहरुले त्यस विषयमा पार्टीमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् । 

त्यतिमात्र नभएर सांसद गुरुङ्गको पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा पनि दर्ता गरिएको छ । सुनसरीको बर्जु गाउँपालिकाकी सुनिताले १५ वर्षअगाडि डोमी रामसँग अन्तरजातीय विवाह गरेकी थिइन् । बर्जुस्थित कोशी आधारभूत विद्यालयमा १९ वर्ष पढाएकी उनले राम (चमार) सँग विवाह गर्दा समाजबाट मात्र भई परिवारबाटै बहिष्कृत हुनुपर्यो । उनी भन्छिन्,‘मैले जातीय विभेद र छुवाछुतको पीडा प्रत्यक्ष बुझेकी छु ।’

विराटनगरमा आयोजना हुने दलितसम्बन्धी प्रायःजसो कार्यक्रममा उनी सहभागी हुने गर्छिन् । कार्यक्रमसहित उनले प्रदेश सभामा पनि दलितको हकअधिकारको विषयमा बोलिरहन्छिन् । आफ्नो उद्देश्य नै दलित सशक्तिकरण, जातीय विभेद र छुवाछुतविरुद्धको अभियानमा लाग्ने भएको उनको भनाइ छ । प्रदेशमा दलित अधिकार ऐन बनाउनुपर्ने माग राख्दै उनी आवाज उठाइरहेकी छिन् । 

काँग्रेसबाट नेता केदार कार्की मुख्यमन्त्री हुँदा सुनिता आन्तरिक मामिला राज्यमन्त्री भएकी थिइन् । मधेशी दलितसँग प्रेम विवाह गरेर आफूलाई दलितको हकहितका लागि समर्पित गरेकी सुनिताको श्रीमान काँग्रेसको प्रतिबद्ध कार्यकर्ता हुन् । उनीहरुको वैधानिक विवाह दर्ता भइसकेको छ । छोराछोरीको जन्मदर्तामा पनि राम नै उल्लेख छ । 

तर, अझैपनि दलितहरुले उनलाई ‘यो दलित होइन, हाम्रो भाग मात्र खान आएकी हो, यसलाई हाम्रो भाग खोस्ने कुनै अधिकार छैन’ भन्छन् । त्यस्ता भनाइ सुन्दा उनको मुटु धुजाधुजा हुने गरेको छ । चित्त दुखेपनि उनले भन्ने गरेकी छिन्,‘मलाई दलित नै होइन भनेर किन भनिन्छ ? मैले दलित समुदायको हकअधिकारका लागि आफूलाई समर्पित गरेकी छु ।’ गत जेठ २ गते विराटनगरमा दलित महिला संघ (फेडो) ले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा दलित समेटिएको–नसमेटिएको विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरेको थियो । 

उनले बोल्ने क्रममा सहभागीहरुले ‘यो दलित नै होइन’ भनिदिए । उनले मन अमिलो पार्दै भनिन्,‘मैले दलितसँग विवाह गरेकै कारण जातीय विभेदको यातना सहेकी छु । तरपनि विचलित नभई आफूलाई दलित आन्दोलनमा समर्पित गरिरहेकी छु । मलाई तपाईँहरु यो दलित होइन भनिरहनुभएको छ । असफल अन्तरजातीय विवाहलाई तपाईंहरुले प्रोत्साहन गर्नुपर्ने होइन र ?’

टिप्पणीहरू