ढोरपाटनका एमाले कमरेडले पार्टी फेरे

ढोरपाटनका एमाले कमरेडले पार्टी फेरे

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य केशर छन्त्याल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत माओवादीले आज बाग्लुङको ढोरपाटनमा आयोजना गरेको जनसभामा पुगेर उनले पार्टी फेरेका हुन् । 

छन्त्यालसहित विभिन्न पार्टी परित्याग गरी १३ जनाले माओवादी केन्द्र रोजेको सो पार्टीले जानकारी दिएको छ । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका स्वागत गर्नुभयो ।

बैतडीको पाटनबाट शुरु भएको अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली आजै बाग्लुङ्ग आइपुगेको हो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, नन्दकिशोर पुन, पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङसहितको टोलीलाई निसीखोला गाउँपालिकामा स्थानीय नेता-कार्यकर्ताले स्वागत गरे । 

माओवादी शीर्ष टोली ढोरपटनको जनसभा सकेर गल्कोटको कार्यक्रममा सहभागी हुने बताइएको छ । आज बागलुङमै बसेर भोलि बिहान पर्वतको कुश्मा पुग्ने कार्यक्रम छ । 

यता, अध्यक्ष प्रचण्डले लगाएको कोटलाई लिएर कार्यकर्ताले चर्चा गरेका छन् । निलो र कफी रङमा कोठे डिजाइन भएको कोट लगातार लगाएको देखेपछि चर्चा गरिएको हो । मंगलबार रुकुम पश्चिमको चौरजहारी, बुधबार रुकुम पूर्वको मुसिकोट हुँदै रोल्पा प्रवेश गरेका प्रचण्डले आज बागलुङ पुग्दासम्म उक्त कोट लगाएको देखिन्छ ।

टिप्पणीहरू