अधिवेशन अगावै एमाले अखिलमा भाँडभैलोको संकेत

अधिवेशन अगावै एमाले अखिलमा भाँडभैलोको संकेत

एमाले विद्यार्थी संगठन अनेरास्ववियुभित्र एकपछि अर्को बबाल हुन थालेको छ । महाधिवेशनका लागि यही जेठ २५ देखि २८ को मिति तोकिएको छ । तर,अधिवेशन आउन दुई हप्ता बाँकी रहँदा पनि कसैलाई तातो लागेको देखिँदैन । सुस्त रुपमा गरिएको कार्यक्रमबाट पनि त्यसको पुष्टि हुन्छ ।

मूल आयोजक समिति र विभिन्न उप समितिको बैठक तथा भेला भर्खर बस्न थालेको छ । जनपरिचालन उपसमितिको भेला आरआर क्याम्पसमा हिजो राखियो । प्रमुख अतिथि अखिल इञ्चार्ज किशोरविक्रम मल्ल थिए !

भेला विभिन्न उपसमितिहरु बनाउँदै समापनतिर केन्द्रित थियो । प्रमुख अतिथि मल्लको बोल्ने पालो आएपछि ठोकुवा गरेर भने, ‘अखिलमा आउने महाधिवेशनबाटै उमेर हद लाग्छ, सवाल कतिमा भन्ने हो,तपाईंहरु ढुक्क हुनुस् ३०,३२,३५ जति भए पनि उमेर लाग्छ ।’

 त्यसपछि कार्यक्रम सञ्चालक नरेश रोकाया रिसले आगो भए ! वक्ताहरुलाई धन्यवाद दिएर कार्यक्रम समापनतिर लाग्नुपर्ने व्यक्ति अर्जेन्टिनाको फुटबल टिम र मेस्सी,पोर्चुगलका रोनाल्डो, फ्रान्सका एम्बापेको उदाहरण दिँदै आफू बूढो नभएको र क्षमताले नै नेता हुने भन्दै प्रमुख अतिथिको उमेर हदको प्रतिवाद गर्न थाले ।

अखिल स्थायी समितिका एक जना सदस्यका अनुसार ‘नरेश दाइले जे गर्नुपर्ने हो,त्यो नगरेर,आफ्नो हाइट आफै घटाउनुभयो । कार्यक्रम सञ्चालकले जुन भूमिका निर्वाह गर्नुपर्ने हो,नगरेर वक्ताझैँ एकोहोरो बोलेर उमेरहद सम्बन्धमा विलाप गर्नुभयो ।’ 

नरेशले पार्टी र नेतृत्वप्रति एकोहोरो गाली गर्न थालेपछि भेलाका प्रमुख अतिथि किशोर मल्ल एकाएक उठेर हिँडे । नजिकै रहेका अखिल अध्यक्ष समिक बडाललाई ‘यसको जवाफ दिनु है’ भनेर उनी फटाफट हलबाट निस्केको बताइन्छ । 

त्यसपछि नरेशले समिकलाई बोल्न दिएनन् । ‘अध्यक्षको आज्ञाले कार्यक्रम यहीँ सकिएको घोषणा गर्छु’ भनेर कार्यक्रम समापनको घोषणा गरे । त्यसपछि आरआरको भलिबल कोर्टमा पुगेका एक केन्द्रीय सदस्य भन्दै थिए, ‘म नरेश दाइलाई अध्यक्ष बनाउनुपर्छ भन्ने मान्छे हुँ,तर उहाँको यस्तो व्यवहार चित्त बुझेन ।’

 

 

टिप्पणीहरू