अन्सुरल मियाँ उता पक्राउ, युनुस अन्सारी यता छुट्दै

भारतीय प्रहरीले राजधानी नयाँ दिल्लीमा एक जना नेपालीलाई पक्राउ गरेको छ । पाकिस्तानी गुप्तचर संस्था आइएसआईसँग सम्बन्ध रहेको आशंकामा बाराका अन्सुरल मियालाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । नेपाली अधिकारीहरुका अनुसार उनी काठमाडौंबाट दोहा र दोहाबाट काठमाडौं फर्केको अध्यागमन रेकर्ड मात्रै देखिन्छ । तर,भारत गएको अवस्थामा उनी उतै पक्राउ परेका हुन् ।
नेपाल प्रहरीका अधिकारीहरुले भारतीय प्रहरीबाट आतंकवादसँग जोडिएको आशंकामा मिया पक्राउ परेको अनौपचारिक जानकारी पाएको बताउँछन् ।
यता,नक्कली भारतीय रुपैयाँ कारोबारमा जेल पुगेका युनुस अन्सारी छुट्ने तयारीमा छन् । ६ वर्षको काराबास नख्खु जेलमा बिताएका उनी आइतबार छुट्दै छन् । तर छुट्नुअघि उनीविरुध्द सम्पत्ति शुध्दिकरण विभागको पत्र प्राप्त भएकाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आवश्यक अनुसन्धान प्रक्रिया थालिसकेको छ ।
अन्सारीलाई कारागारभित्र पनि हाई सेक्युरिटीमा राखिएको छ । जेलभित्रै पनि भेट्न आएका सार्प सुटरले गोली हानेपछि त्यसो गरिएको प्रहरीको भनाई छ ।
उनी २०६६, २०६७, २०७० र २०७६ मा नक्कली भारु कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । पछिल्लो पटक प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे सात करोड नक्कली भारुसहित पक्रेपछि अदालतको आदेशमा उनलाई छ वर्ष जेल, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्ति तोकिएको थियो ।
टिप्पणीहरू