नेपाल बैंकको सुरक्षा गार्ड सुत्ने कोठामा लुटपाट

नेपाल बैंकको सुरक्षा गार्ड सुत्ने कोठामा लुटपाट

नेपाल बैंकको सेक्युरिटी गार्ड रुममा लुटपाट भएको छ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित बैंकको शाखा कार्यालयको सुरक्षा गार्ड बस्ने कोठामा गएराति चोरी भएको हो । 

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले सोही नगरपालिका–६ विरपुर बस्ने २० वर्षीय अपसाद अंसारीलाई नियन्त्रणमा लिएको छ । 

बैंकका सुरक्षाकर्मी प्रमोद चौधरी र पर्शुराम चौधरी सुतिरहेको कोठाको दराजबाटै एकनाले बन्दुक, मोबाइल, डिजिटल तराजु, घडी, खुकुरी, कम्प्युटर स्क्यानर, ल्यापटपजस्ता सामग्री चोरी भएको थियो । बिहान साढे ३ बजे घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो । 

त्यसपछि घटनाबारे अन्य जिल्लाका सुरक्षा निकायलाई समेत जानकारी गराइएकोमा अन्सारी सिरहाको लहान नगरपालिका–२ हस्पिटल चोकबाट पक्राउ परेका हुन् । उनको साथबाट चोरिएका सामानहरु बरामद गरिनुका साथै लहानबाट सप्तरी ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू