अब त यो सरकार ढल्छ, ढल्छ

- तीर्थ सिग्देल
यसअघि नै लेखिसकिएको छ , यो नेपाली इतिहासको सबैभन्दा शक्तिशाली सरकार हो भनेर । जंगलका सिंहहरूको कथा पनि आइ नै सक्यो । अब जंगल सुरक्षित छैन भनेर कसरी लेखौँ ! यति शक्तिशाली सरकार ढल्छ भनेर कसरी पत्याऊँ । तैपनि, बिहान–बेलुका हावाहुरी चल्छ । सरकार ढल्छ, ढल्छ भन्ने गीतहरू बजेको सुनिन्छ ।
खासमा यो सरकार किन ढाल्नुपरेको होला ? इतिहासकै शक्तिशाली सरकार ढालेर कमजोर सरकार किन बनाउन खोजेको होला ? त्यसो गर्दा के फाइदा, के बेफाइदा ? प्रश्न अरु पनि होलान् तर यहाँ प्रश्न बलवान छ कि यो सरकार ढालेर के गर्न खोजेको हो ? ५० को दशकतिर साप्ताहिक पत्रिकामा एउटा कार्टुन हेरेको थिएँ । रूखको हाँगामा बसेर दुई वटा चराले गाइरहेका थिए, ...यो सरकार ढल्छ, ढल्छ भनेर । सोही गीत अहिले पनि गुञ्जिरहेको छ ।
चरालाई फेरि पनि मेरो प्रश्न छ, यो सरकार किन ढाल्ने ?अनि यो सरकार ढालेर कसको सरकार बनाउने ? उनै प्रचण्डको कि शेरबहादुरको ? उसोभए त यही सरकार नै ठीक छ नि ! यसले दलीय भागबण्डा, विश्वविद्यालयमा हस्तक्षेप, व्यापारी, बिचौलिया र तस्करको काम त मज्जैले गरिरहेको छ । आर्थिक विकासका आधार बलिया बन्दै छन् भन्ने अर्थमन्त्रीका तर्कहरूलाई मद्दत गर्दै धुलाबारीका व्यापारीले अर्बांै रूपैयाँको हुण्डीको काम गरेर देखाए । भर्खरै सर्वोच्च अदालतले पाथीभरामा केवलकार नरोक्न आदेश दिएको छ । सरकारले दमक भ्युटावर भाडामा लगाउने ऐतिहासिक निर्णय लिएको छ । सुरुङमार्ग उद्घाटन भइसक्यो । जयवीर देउवाले हिल्टन होटलमा हात हालिसके, केपी ओलीका नाममा एक टुक्रा जग्गा छैन । भ्रष्टाचारी पक्राउ पर्दै छन् । मोहनबहादुर बस्नेतको जेलबास हुनेभयो । भुटानी शरणार्थीबारे किन प्रश्न उठाउनु ? पोखरा र लुम्बिनी विमानस्थलका भ्रष्टाचार र भैँसीका कथा किन उधिन्नु ? यसो नभएको भए युवा संघ र तरुण दलका केटाहरू पार्टीमा कसरी बस्थे ?कमसेकम ती युवा देशमै छन् । उनीहरूलाई देशमै बस्ने वातावरण मात्र बनाइदिएको हो सरकारले ।
यो सरकार आएपछि कति ऐतिहासिक निर्णय भएका छन् । के म त्यसमा गौरव नगरुँ ? लुम्बिनी विमानस्थलका काण्ड खोज्ने जिम्मा मञ्जु खाँणलाई रे ! बेचन झा जेलमै छन् । अब उनलाई छुटाउने समिति चाहियो रे । सरकारका पूर्वसचिव, सह सचिवहरू भ्रष्टाचार अभियोगमा मुद्दा खेपिरहेका छन्् । योभन्दा सुशासन कति चाहियो ? भो, यति, ओम्नी, बतास काण्डहरूको कुरै नगरौँ । त्योभन्दा अगाडि नै नयाँहरूले काण्ड मच्चाए । सहकारी काण्डमा रवि लामिछाने जेल गएकै छन् । पहिले पनि चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, जयप्रकाश प्रसाद गुप्ता, गोविन्दराज जोशीहरू भित्रै थिए । बरु त्यो बेलाका लाउडा, चेजएयर, चाइना साउथवेष्ट, एयरबस, वाइडबडी, ललितानिवास, बूढीगण्डकी, ७० करोड, सिसिटिभीजस्ता काण्डलाई असफल पार्दै भर्खरै पटाक्षेप भएको पोखरा विमानस्थल काण्डको अलिकति कुरा गरौं । कमसेकम त्यहाँबाट आफ्ना कार्यकर्ता त पालिएका छन् । त्यसको म किन विरोध गरौं ?
जयवीर देउवाले हिल्टन होटलको शेयर पाए रे ! यो हल्ला चलेपछि टीकापुर काण्ड आइहाल्छ । ओम्नी भन्नेबित्तिकै पानीट्यांकी काण्ड निस्किहाल्छ । ५२ जनाको राजनीतिक नियुक्तिको मुद्दा फैसला गर्न ढिलाइबारे धेरै प्रश्न उठाउन मिल्दैन किनभने उनीहरूको नियुक्ति अवधि सक्किएपछि त्यो आउँछ । कांग्रेस साँसद् मीना राईको आँखाबाट बरर आँसु झ¥यो । बिचरा उनलाई पार्टीले छुटाउन सहयोग गरेन रे ! प्रकाशमान सरकारमा छन् । अनि कसरी छानबिन हुन्छ त बालमन्दिर प्रकरण ? बालकृष्ण खाँण बाहिर तर टोपबहादुर रायमाझी जेलमै छन्, आरजु सरकारमा छिन् अनि कसरी गर्ने आफ्नै बारेमा छानबिन ? आफ्ना हकमा त अरुले गर्ने हो छानबिन । अहिले यो सरकारले रवि लामिछानेहरूको बारेमा खुनीखोत्रो गरेको छ । पछि उनीहरूको पनि पालो पक्कै आउला ।
कहिले सासूको पालो त कहिले बुहारीको । प्रश्न यो छ कि सरकार ढल्छचाहिँँ कहिले ? कहिले यो सरकार ढल्नु, अनि प्रचण्ड प्रधानमन्त्री बन्नु अनि उनले आफ्ना कार्यकर्ताको पालनपोषण, भर्ती अनि रसदपानीको व्यवस्था गर्नु ! ढिलो भइसक्यो सरकार फेर्न । अब सरकार बाहिर कार्यकर्ता धेरै दिन बस्न सक्दैनन् । एमाले केही समय सरकारबाहिर बस्दा देखिएन ? पार्टी खिएर कत्रो भएको थियो ! विचारविहीन समाजमा बिचौलियाको धन्दा फस्टाउँदो रहेछ । बिचौलिया पोसेपछि कार्यकर्ताले काम पाउँदा रहेछन् । मन्त्री आफैँँ त्यसको पालनपोषणकर्ता भएपछि कार्यकर्ता ‘कर्ताहर्ता’ बन्दो रहेछ ।
प्रधानमन्त्रीले नाथे एक थान गभर्नर नियुक्त गर्न नपाउने ? अरु सबै भर्ती भइसके । बाँकी रहेको गभर्नर आफ्नै बनाएपछि यो सरकार आफैँँ ढल्छ । त्यतिञ्जेल त पर्खनुस् राजावादीहरू । रवीन्द्र मिश्रले पनि घर जान पाए । नाथे एउटा दुर्गा प्रसाईं त हिरासतमा छन् । त्यसका लागि के को आन्दोलन ? ओ...राजावादीहरू हो, अब राजा किन ल्याइरहनु ? अहिलेका नेता नै राजाजस्ता भएपछि... ।
विद्या दिदीले सरकार छाड्नुभयो । शिक्षकहरू घर फर्के । यसपटक पनि बोर्डिङ स्कूलका किताब छिट्टै स्कूल पुगे । बरु नागरिक सचेतना शिक्षाका सरकारी किताब भर्खर डिजाइन भइरहेको छ । अर्का शिक्षामन्त्री आएपछि उल्कै भो, शिक्षकका माग पूरा भए । उनीहरू विद्यालय फर्केर पढाउन थाले । तर, दुःखको कुरा अब केही वर्षभित्रै ती स्कूल कागजमा मात्र रहनेछन् । विद्यार्थी रहने छैनन् । प्लस टु भन्दा माथिका कक्षा धेरै बन्द भइसके । अब ती विद्यार्थी खोज्न विदेशै पुग्नुपर्छ । विद्या दिदीले भनेको याद छ, ...सत्तासीनहरू सरकारी शिक्षाभन्दा निजीप्रति बढी उत्तरदायी भए । किन नहुन् त त्यसरी ! ८४ मा चुनाव आउँदै छ । त्यतिबेला चुनाव लड्न पैसा चाहिन्छ । कार्यकर्ता पोस्न रकम चाहिन्छ ।
निजी क्षेत्रका आफ्नै पीडा होलान् । तर, त्यसो भन्दैमा देशकै अस्मिता लुटिने गरी त नलुटे हुने भन्ने मात्र हो । गिरिबन्धु चियाबगानकै छेउमा बसेर त्यसको कति विरोध गरौँ ? भूमि ऐनबारे उपेन्द्र यादवको अडान सलामयोग्य छ भनेर किन लेखुँ ? बरु अलिकति सरकारमा रहे पनि सत्तामा आजसम्म रहन नपाएका शेखर दाइको कुरा गरौं । उहाँ हाकाहाकी बोल्ने मान्छे हो । धेरैले कांग्रेसमा महामन्त्रीहरू त्यसरी बोल्छन् भन्थे तर होइन रहेछ । बरु शेखर दाइले बोलेको सुन्छु अनि मनमनै गम्छु– हाम्रो लोकतन्त्र... । आमलोकतन्त्रको सवाल मात्र होइन यो । आन्तरिक लोकतन्त्रको कुरा गर्न खोजेको हो मैले । यो समस्या कम्युनिष्टमा बढी छ । एकताका बोल्न पाइन्छ भनेर बोल्न खोज्ने रामकुमारी अहिले अखिलकै विवादमा परेकी छन् । उनै मन्त्री फेर्ने बेलाभो...भनेर संसद्मै कुर्लिने रघुजी पन्त मन्त्री भए । एमालेका दश भैयाहरूबारे भो, अहिले धेरै नलेखौँ । त्यो बुहार्तन भोग्नेलाई थाहा छ । बुहारी सासू नभइकन सत्य कुरा थाहा पाइँदैन । महिला नेत्रीका आवाज धीमा गतिमा अगाडि बढ्दै छ । मधुरो प्रकाश बनेर, मधुरो आवाज बनेर । त्यो कहाँसम्म पुग्ला ? भो त्यति परसम्म पनि नजाऔँ ।
यति शक्तिशाली सरकार छ । जंगलका राजाहरू मिले भने त्यसै शासन बलियो हुन्छ । त्यहाँ स–साना जीवजन्तु घुनझैँ पिसिन पनि सक्छन् । उनीहरूकै जिहजुरी गरे भने लामै जान पनि सक्छन् । आगे उनीहरूकै मर्जी । तैपनि, चराहरूले गीत गाइरहेकै छन्, धीमा स्वरमा, मधुरो आवाजमा र अधुरो प्रकाशमा । ...यो सरकार ढल्छ, ढल्छ भनेर ।
टिप्पणीहरू