महानगरमा स्पष्टिकरणको श्रृंखला, प्रवक्तालाई माफी माग्न बालेनको निर्देशन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले १७ नम्बरका वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टिकरण सोधेका छन् ।
महानगरको प्रवक्तासमेत रहेका मानन्धरले धेरै अगाडि टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बालेनले जवाफ मागेका हुन । मेयरको सचिवालयका कर्मचारीमार्फत् स्पष्टिकरणको पत्र प्राप्त भएको मानन्धरले बताए ।
वडाध्यक्ष मानन्धरले एक-डेढ महिनाअघि मेयर बालेनले तानाशाही प्रवृति देखाएको, एकलौटी निर्णय गरेको, जनप्रतिनिधि र कर्मचारीसँग समन्वय नगरेको जस्ता कुरा उल्लेख गर्दै 'राजा हैन महाराजा' भनी कटाक्ष गरेका थिए । चैत अन्तिमतिरको उक्त प्रसंग अहिले उठाएर बालेनले प्रवक्ताको हैसियतमा भएको मान्छेले सार्वजनिक रुपमा महानगर प्रमुखविरुद्ध अभिव्यक्ति किन दिएको ? भनेका छन् ।
पत्रमा उनलाई माफी माग्न निर्देशनात्मक चेतावनी पनि दिइएको छ । तर, मानन्धरले भने माफी नमाग्ने बताए ।
‘मेयर सा'पले खुलेयाम सिंहदरबार जलाइदिन्छु भन्दा माफी माग्नु नपर्ने, प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा करप्टेड भन्दा माफी माग्नु नपर्ने, अनि मैले चाहिँ माफी माग्नुपर्ने ?’, उनले जनआस्थासँग भने, ‘म पनि जतप्रतिनिधि हो, उहाँको कारिन्दा हैन, साथीहरुसँग छलफल गर्दैछु, लोकतन्त्र हो यो, उहाँले मात्र बोल्न पाइने मैले बोल्न नपाउने भन्ने हुँदैन ।’
मेयरसँग उपमेयर, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको लफडा चर्किंदै जाँदा काठमाडौँ महानगरमा स्पष्टिकरणको शृंखला चल्दै आएको छ । केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले नगर प्रहरी प्रमुख राजु पाण्डेसँग स्पष्टिकरण मागेका थिए ।
मेयरको ‘दाहिने हात’ मानिएका उनलाई उपप्रमुख सुनिता डंगोल, प्रवक्ता मानन्धरसहित केही जनप्रतिनिधिको जोडबलमा अप्ठेरोमा पार्न खोजिएको बालेनको बुझाई छ । यसै कारण उनले मानन्धरलाई स्पष्टीकरण सोधेर आक्रोश पोखेको त्यहाँका कर्मचारीहरु बताउँछन् ।
टिप्पणीहरू