संसदीय दलका नेताबारे मौन, गृहमन्त्रीमाथि आक्रोशित
गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी संसद बैठक अवरुद्ध गर्ने भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले पर्सिको प्रतिनिधिसभा बैठकबारे रणनैतिक योजना बनाएको छ ।
भिजिट भिसा प्रकरणमा कर्मचारीलाई मात्र दोषी देखाएर गृहमन्त्री लेखकलाई उन्मुक्ति दिने प्रपञ्च शुरु भइसकेको रास्वपाको ठहर छ । बैठकबारे जानकारी दिँदै सांसद तथा सहप्रवक्ता मनिष झाले भने, ‘गल्ती त कर्मचारी कै हुन्छ नि, गृहमन्त्री नै त्यहाँ (एयरपोर्ट) गएर टाँचा लगाउन बस्नु त भएन होला । तर मैले टाँचा लगाएको होइन भनेर पन्छिन पाइँदैन । त्यहाँ कर्मचारी कसरी सरुवा भए, सरुवा विधिसम्मत थियो कि थिएन, कसको योजना र निर्देशनमा कर्मचारीले त्यो काम गरे, मुख्य कुरा त्यो हो ।’
प्रवक्ता झाले ‘जेल जान कसैलाई प्रमाणित हुनुपर्ने, कसैलाई अभियोजन मात्र भए पुग्ने, किन ?’ भनेर प्रश्न पनि गरे । आफ्नो संलग्नता प्रमाणित भए राजनीति नै छाड्ने गृहमन्त्रीको उद्घोषप्रति कटाक्ष गर्दै उनले थपे, ‘प्रमाणित भयो भने त राजनीति छोड्ने हैन, जेल जाने हो नि । राजनीति त छोड्नैपर्छ, त्यो अप्सन नै होइन ।’
पार्टी सभापति रवि लामिछानेमाथिको आरोप प्रमाणित नहुँदा पनि जेलमा थुनिएको तर गृहमन्त्री लेखकले प्रमाणित हुन समय लिइरहेको रास्वपाको निष्कर्ष छ । ‘तपाई (गृहमन्त्री) लाई जेल जान प्रमाणित हुनै पर्ने, अनि अरुलाई चाहीँ आरोप लागेकै भरमा थुन्नु भएको छ, पुरानो दलका नेतालाई मात्रै प्रमाणित हुनुपर्ने, नयाँ दलकालाई चाहीँ अभियोजन मात्र भए पुग्ने हो ? हो भने सरकारले स्पष्ट भनिदियोस्’, उनले थपे ।
अस्ति र हिजो भएको सचिवालयको भर्चुअल बैठकपछि आज केन्द्रीय समिति बैठक बसेको हो । सर्वोच्च अदालतको अस्तिको आदेशपछि पार्टी सभापति रवि लामिछाने लामो समयसम्म कारागारमा बस्नुपर्ने भएपछि संसदीय दलको नेता रिक्त हुन पुगेको अवस्थामा केन्द्रीय समितिको बैठक बसेपनि त्यसबारे कुनै निर्णय गरिएको छैन ।
कार्यवाहक सभापति डिपी अर्याल संसदीय दलको नयाँ नेता खोजीको विरोधमा देखिन्छन् भने अन्य सदस्यहरु विकल्प खोज्नुपर्ने पक्षमा रहेको बताइन्छ । सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा जेल पुगेका रविको अनुपस्थितिका कारण संसदीय दलमा गत पुसदेखि नेतृत्व रिक्त हुन पुगेको छ ।
टिप्पणीहरू