प्रतिव्यक्ति आय बढ्यो, अर्थतन्त्रको आकार ६१ खर्ब
चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सोबारे जानकारी गराउनुभएको हो ।
सर्वेक्षणअनुसार मधेस, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ भन्दा माथि छ । त्यस्तै, चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।
यस अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २५.१६, उद्योग क्षेत्रको १२.८३ र सेवा क्षेत्रको ६२.०१ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५ सय १७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४.७ र राजस्व १२.६ प्रतिशतले बढेको छ । वैदेशिक सहायता प्रतिवद्धता पनि उल्लेख्यरूपमा बढेको सर्वेक्षण प्रस्तुत गरिएको छ ।
सङ्घीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रहेको थियो । २०८१ फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो ।
अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको विवरणअनुसार वित्तीय पहुँच बढेको छ । उहाँले भन्नुभयो–‘सबै स्थानीय तहमा बैंङ्कको शाखा पुगेको छ । बैंङ्क तथा वित्तीय संस्थाका प्रति शाखाबाट औषत २ हजार ५ सय २७ जनसंख्यामा बैंकिङ्ग सेवा उपलब्ध भएको छ । २०८१ फागुनमसान्तमा बैंङ्क तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ । नेप्से सूचकाङ्क २०८१ फागुनमसान्तमा २७३६.४९ बिन्दु कायम भएको छ । जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसंख्यामा पुगेको छ ।’
चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७.२ र पैठारी ११.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४.३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ ।
हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालबाट ४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ । वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । कुल जडित विद्युत क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको छ ।
सङ्घीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाई ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ । इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२.० प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ ।
त्यस्तै, मानव विकास सूचकाङ्क बढेर ०.६२२ पुगेको छ । शैक्षिक सत्र २०८१ मा आधारभुत तह (कक्षा १–८) को खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्ना दर ५५.८ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यस अवधिसम्म ९६.८५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको सरकारले बताएको छ ।
त्यस्तै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार ३ सय ८९ रहेका छन् ।
टिप्पणीहरू