आलमलाई उम्क्याउने न्यायाधीशसँग बरिष्ठ उपाध्यक्ष आक्रोशित
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रौतहट नरसंहारका अभियुक्त नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताव आलमलाई सफाइ दिने अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।
आलमलाई सफाइ दिएर कलंकको कालो टिका लगाएको भन्दै उनले न्यायाधीशहरुलाई ‘बहादुर’को संज्ञा दिए । जिउँदा मानिसलाई इँट्टाभट्टामा जलाएको अभियोगमा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागार चलान भएका आलमलाई हिजो उच्च अदालत जनकपुरका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले उन्मुक्ति दिएको थियो ।
पूर्व मन्त्रीसमेत रहेका माओवादी नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत् आलमको रिहाइले न्यायालय कलकंको रुपमा दर्ज भएको टिप्पणी गरे ।
‘इँटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाइ दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ’, उनले भनेका छन्, ‘कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर’ न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन् ।’
अपराधमा संलग्न भएकाहरु समाजमा निर्दोष बनेर हिँड्दा कस्तो परिस्थिति बन्ला ? भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । ‘यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारवाही , रुपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी छ’, बरिष्ठ उपाध्यक्षले फेसबुकमा लेखेका छन् ।
टिप्पणीहरू