विदेशमा लगानी गर्न दिइने, कमाएको ५० प्रतिशत ल्याउनैपर्ने
सरकारले नेपालीहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै व्यवसायी–लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने घोषणा गर्नुभएको हो ।
‘व्यवसायी–लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइनेछ । विदेशमा लगानी गर्न अनुमति भने नेपाल लगानी बोर्डले दिनेछ’, उहाँले भन्नुभयो । नेपालबाट विदेशमा बिक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइने पनि जानकारी गराइएको छ ।
विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने पनि बजेटमा उल्लेख छ ।
त्यसैगरी, बजेटमा औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशतले घटाउने घोषणा गरिएको छ । खानीजन्य वस्तुहरुको उत्खनन्देखि निकासीसम्मको व्यवस्था मिलाइने जनाइएको छ ।
बजेटमा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम राखिएको छ । जसका लागि ७३ करोड बजेट छुट्टाइएको छ । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाख रुपैयाँसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने भनिएको छ ।
आगामी वर्ष एक सय स्थानीय तहमा भूमि बैंक, वैकल्पिक वित्त कोष परिचालन गरी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
टिप्पणीहरू