संसद बैठक अवरुद्धको गाँठो फुकाउने प्रयत्न, माओवादी गृहमन्त्रीको राजीनामामा अडिग
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच छलफल भएको छ । सिंहदरबारमा जारी छलफलमा नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुन्छ ।
बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला, माओवादी महासचिव देव गुरुङ र प्रमुख सचेतक हितराज पनि पुगेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरोध गरिरहेको पृष्ठभूमि प्रधानमन्त्री ओलीले बैठक बोलाउनुभएको हो । भोलिदेखिको संसद बैठक कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेको बताइन्छ ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि नहट्ने निर्णय गरिसकेको छ । दिउँसो संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको छ । उक्त बैठकपछि अध्यक्ष प्रचण्डले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि संक्षिप्त भेटवार्ता गर्नुभएको थियो । त्यसपछि उहाँ प्रधानमन्त्री कार्यालय पुग्नुभएको हो ।
टिप्पणीहरू