पद बहालीलगत्तै निष्क्रिय फेसबुक पेज अवकाशपछि सक्रिय
नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले पाँच वर्षभन्दा बढी समयपछि फेसबुक पेज चलाउन थालेका छन् । आज प्रोफाइल र स्टोरीमा पुराना फोटोहरु फेरेपछि उनको फेसबुक पेज सक्रिय भएको हो ।
२०७६ चैत २४ गते बैंकको गभर्नरमा नियुक्त अधिकारीले लगत्तै सरकारलाई आफ्नो पेजमा लेखेर धन्यवाद दिएपछि गभर्नरको जिम्मेवारीमा छउञ्जेल फेसबुक तथा मेसेञ्जरको प्रयोग नगरेको बताइन्छ । कोभिड १९ महामारीमा गभर्नर नियुक्त भएपछि उनले शुभकामना वा बधाई दिन चाहनेलाई कोभिड १९ महामारी रोकथामको मापदण्ड पालनाको लागि पनि फेसबुुकबाटै आग्रह गरेका थिए ।
उनले यसबीचमा फेसबुकबाहेक अन्य सामाजिक सञ्जाल भने प्रयोग गरेका थिए । अधिकारी गभर्नर हुँदा उनको सचिवालयमा रहेर काम गरेका एक जना कर्मचारी भन्छन्, ‘ह्वाट्सएप, भाइबर, वी च्याटलगायतमा कुराकानी गर्नुहुन्थ्यो । फेसबुक र मेसेञ्जर चलाउनुभएको थाहा भएन ।’
टिप्पणीहरू