अढाई करोडलाई एनसेलकाे भोल्टे सेवा

अढाई करोडलाई एनसेलकाे भोल्टे सेवा

कास्कीको पोखरास्थित एनसेलको डाटा सेन्टरले अब अढाई करोड ग्राहकलाई भोल्टे सेवा दिने भएको छ । भ्वाइस ओभर लङटर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धि परियोजनाको उद्घाटनसँगै अब सेन्टरमार्फत ५० लाख सक्रिय ग्राहकमा भोल्टे सेवा पुग्ने भएको हो । 

भोल्टे सेवा दूरसञ्चार क्षेत्रमा नयाँ प्रविधि हो । यसले उच्च गुणस्तरको हाई डेफिनिसल (एचडी) र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । परियोजनाको उद्घाटन गत आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरेका थिए । 

अत्याधुनिक सर्भरमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा प्रदानका निम्ति विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आइएमएस) प्रणालीको स्विच अन गरेर परियोजनाको उद्घाटन गरिएको थियो ।  

भोवाइफाइ यस्तो प्रविधि हो, जसले प्रयोगकर्तालाई कुनै पनि वाइफाइको प्रयोग गरेर आफ्नै एनसेल नम्बरबाट फोन कल गर्न र रिसिभ गर्न सक्षम बनाउँछ । यसमार्फत प्रयोगकर्ताले एचडी भ्वाइस कल र एसएमएस पठाउन सक्छन् । 

विशेषगरी मोबाइल सिग्नल कमजोर हुने बेसमेन्ट, अग्ला भवन वा दुर्गम ठाउँ जहाँ स्थिर वाइफाइ उपलब्ध हुन्छ, त्यस्ता ठाउँमा भोवाइफाइमार्फत सहजै सम्पर्कमा रहन सकिन्छ ।

टिप्पणीहरू