मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । सोमबार बेलुकी भएको खेलमा नेपाल थाइल्याण्डसँग २-० गोलले पराजित भएको हो ।
थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रङ्गशालामा भएको खेलमा थाइल्याण्डलाई जित दिलाउन चात्चावान रोडथोङ र कप्तान जिरापुरन मोङकोल्डीले समान एक/एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सम्मालिन नसक्दा नेपालले दुई गोल बेहोरेको हो ।
खेलको ५९औँ मिनेटमा थाइल्यान्डकी चात्चावान रोडथोङले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यसैगरी खेलको ७४औँ मिनेटमा दोस्रो गोल गर्यो । थाइल्यान्डकी कप्तान जिरापुरन मोङकोल्डीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएकी थिइन् । त्यसपछि खेलमा गोल हुन सकेन र थाइल्यान्ड २–० गोलअन्तरले विजयी भएको हो ।
यसअघि शुक्रबार बन्द रंगशालामा भएको खेलमा पनि नेपाल थाइल्यान्डसँग १–० गोलअन्तरले पराजित भएको थियो ।
नेपालले एएफसी एसियन कप छनोटको तयारीको लागि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । एसियन छनोटमा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा लाओस, श्रीलंका र उज्वेकिस्तान रहेका छन् । छनोटको पहिलो खेलमा नेपालले २९ जुनमा लाओसविरुद्ध खेल्नेछ । दोस्रो खेल जुलाइ २ मा श्रीलंकासँग र तेस्रो तथा अन्तिम खेल जुलाइ ५ मा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
टिप्पणीहरू