सगरमाथाबाट फर्किएका महामन्त्री गृहमन्त्रीको पक्षमा

सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र सहकारी ठगी प्रकरणमा कारागारभित्र रहेका पूर्व गृहमन्त्री रवि लामिछानेको विषय नितान्त फरक रहेको जिकिर गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माले संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व गृहमन्त्री लामिछानेविरुद्ध विभिन्न ठाउँमा उजुरी परेपछि मात्र राजीनामा माग गरिएको, तर गृहमन्त्री लेखकविरुद्ध अहिलेसम्म कहिकतै उजुरी नपरेको टिप्पणी गरेका हुन् । 

गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रतिपक्षीको अडानलाई औंल्याउँदै उनले त्यो व्यवहारिक नभएको बताए । ‘साथीहरुले पूर्व गृहमन्त्रीको विषयसँग जोडर अलिकति प्रतिशोध लिएको जस्तो देखियो, तर यो संसदीय दृष्टिकोणले व्यवहारिक होइन’, उनले भने, ‘उहाँ (लामिछाने)विरुद्ध त पोखरा, बुटवलसहित विभिन्न ठाउँमा उजुरी परिसकेपछि मात्रै हामीले राजीनामा र संसदीय छानबिन समितिमो माग गरेका थियौँ, तर अहिले गृहमन्त्रीज्यूविरुद्ध त्यस्तो त केही छैन ।’

सगरमाथा आरोहणको असफल प्रयासपछि राजधानी फर्किएका शर्माले लेखक गृहमन्त्री रहँदैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रभावित नहुने पनि बताए । ‘रविजीको हकमा त प्रहरी (सिआइबी)ले नै अनुसन्धान गर्दै थियो, तर अहिले अख्तियारले गरिरहेको छ, यदि अनुसन्धानको क्रममा लहरो तान्दा पहरो खस्ने स्थिति आयो भने उहाँ आफैले राजीनामा दिनु भैहाल्छ, अहिलेकै अवस्थामा चाहीँ राजीनामा मागेर ढिपी गर्नु उचित होइन’, उनले थपे । 

आज बिहान ११ बजे डाकिएको संसद बैठक दुई पटक स्थगित गरेर ४ बजे सारिएको छ । सभामुख देवराज घिमिरेसँगको छलफलमा गृहमन्त्रीलाई संसदमा बोल्न दिन विपक्षी दलहरु तयार भए पनि उच्चस्तरीय छानबिन समिति बनाउने अडानप्रति सत्तापक्षले सहमति जनाएका छैनन् । सत्तापक्ष र प्रतिपक्षको आआफ्नै अडानले सभामुख घिमिरेलाई सहमति जुटाउन सकस परेको बताइएको छ । संसद भवन परिसरमै सत्तापक्ष र विपक्षी दलहरुको छुट्टाछुट्टै छलफल चलिरहेको छ ।
 

टिप्पणीहरू