प्रहरीका ठूलाबडालाई १२ घण्टाको अल्टिमेटम
नेपाल प्रहरीले सरुवा भएको लामो समयसम्म रवाना नलिएको जनाउँदै वरिष्ठ अधिकारीहरुलाई तत्काल सरुवा भएको कार्यालय, विभाग, युनिटमा पुग्न निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयले अति जरुरी भन्दै सबै ब्युरो, निर्देशनालय, महाशाखा, प्रतिष्ठान, प्रदेश कार्यालयलाई आज दिउँसो साढे २ बजे एकै पटक पठाएको प्रहरी सञ्चारमा सरुवा गरिएको स्थानमा १२ घण्टाभित्र जान भनिएको छ ।
प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले पठाएको सञ्चारमा जेठ १६ गते सरुवा भएका प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई १२ घण्टाभित्र प्रस्थानको अल्टिमेटम दिइएको छ । भनिएको छ, ‘प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं.७२८३, ७२८६ र ७२८७ मिति २०८२ जेठ १६ गतेको पत्रानुसार सरुवा, पदस्थापन तथा काज हुनुभएका प्र.ना.म.नि. र प्र.व.उ.हरुलाई सञ्चार प्राप्त भएको १२ घण्टाभित्र सम्बन्धित कार्यालयमा रवाना गरी सोको जानकारी नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखामा दिनुहुन निर्देशानुसार अनुरोध ।’
टिप्पणीहरू