जर्मनीलाई हराउँदै पोर्चुगल नेसन्स लिगको फाइनलमा

जर्मनीलाई हराउँदै पोर्चुगल नेसन्स लिगको फाइनलमा

पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल खेलमा जर्मनीलाई २-१ गोलले पाखा लगाउँदै पोर्चुगल दोस्रोपटक नेसन्स लिगको फाइनलमा पुगेको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा पोर्चुगललाई जित दिलाउन चिको कोन्सेकाओ र क्रिस्टियानो रोनाल्डोले समान एकरएक गोल गरे । जर्मनीको लागि फ्लोरियन विर्ट्जले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा जर्मनी घरेलु मैदानमा पराजित हुन पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औँमिनेटमा विर्ट्जले गोल गर्दै जर्मनीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६३ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका कोन्सेकाओले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याए । पाँच मिनेटपछि रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पोर्चुगल २-१ गोलले विजयी भएको हो ।

अब पोर्चुगलले ८ जुनमा हुने फाइनल खेलमा आज स्पेन र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । जर्मनीले भने तेस्रो स्थानको लागि दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग खेल्नेछ ।

टिप्पणीहरू