महासंघ अध्यक्ष र आइएमएफ प्रतिनिधिको भेटमा बजेटबारे चर्चा

महासंघ अध्यक्ष र आइएमएफ प्रतिनिधिको भेटमा बजेटबारे चर्चा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा. सरावत जहानले भेटवार्ता गरेकी छन्  । महासंघको टेकूस्थित सचिवालयमा भएको भेटवार्तामा आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।

सो अवसरमा बोल्दै अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिको रूपमा प्राथमिकता दिएको बताएका छन् । बजेटमा महासंघका सुझावहरू समेटिएको उल्लेख गर्दै कार्यान्वयनमा प्रभावकारिता आवश्यक रहेको जोड दिएका हुन् । ‘हामीले बजेटलाई सकारात्मक रुपमा लिएका छौं । बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, जुन कार्यान्वयनमा इमानदारी भए सम्भव छ,’ ढकालले भने । 

उनले पर्यटन क्षेत्र र जलविद्युत् विकासमा थप प्राथमिकता आवश्यक रहेको र यस विषयमा सरकारलाई सुझाव दिएको जानकारी गराए । अध्यक्ष ढकालले आर्थिक विकास र समृद्धिका लागि सुशासन र नीतिगत स्थायित्व सुनिश्चित गर्न महासंघले सरकारसंँग पैरवी गरेको बताए । 

डा. सरावतले आर्थिक वर्ष २०८२/८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेट मार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षाका लगायत नेपालको समग्र अथतन्त्रका बारेमा जानकारी लिएकी छन् । नेपाल सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबीचको सहकार्य तथा आइएमएफले सरकारसँग नयाँ सहकार्यका बारेमा छलफल गरिरहेको पनि बताइन् ।

टिप्पणीहरू