ग्लोबल आइएमईको कर्पोरेट कार्यालयमा इभी चार्जिङ स्टेशन

ग्लोबल आइएमई बैंकले कमलादीस्थित आफ्नो कर्पोरेट कार्यालयमा विद्युतीय सवारी साधन (इभी) चार्जिङ स्टेशन स्थापना गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर चार्जिङ स्टेशन स्थापना गरिएको हो ।
बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रुपमा उक्त चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन् ।
गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिंगल गनको ४० किलोवाट क्षमता छ । बैंकमा सेवा लिन आउने ग्राहक र कर्मचारीले त्यहाँ आफ्नो इभी गाडी चार्ज गर्न सक्नेछन् ।
पछिल्लो समय विद्युतीय सवारी साधन प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकको सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको बैंकको भनाइ छ ।
सञ्चालक शर्मा आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गरी वातावरण अनुकूल इभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा चार्जिङ स्टेशन स्थापना गरेको बताउँछन् ।
बैंकले व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपायहरु पनि अवलम्बन गरिरहेको उनले जनाए । यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले वातावरण संरक्षण र उत्तरदायीप्रति बैंक प्रतिबद्ध रहेको बताए ।
वातावरणमैत्री प्रोडक्ट ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा बैंकले काम गरिरहेको उनले जानकारी दिए ।
बैंकले सञ्चालनमा ल्याएको इभी चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अवलम्बन गर्ने उनको विश्वास छ ।
टिप्पणीहरू