करोडमा खरिद गरिएको होटललाई अर्बौं ऋण

करोडमा खरिद गरिएको होटललाई अर्बौं ऋण

करोडमा खरिद गरिएको होटललाई अर्बौं ऋण मिलाउने नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पर्यटकीय शहरको रुपमा परिचित रुपन्देहीको सिद्धार्थनगरको बेलहियामा रहेको एउटा होटललाई बैंकले खरिद गरेकोभन्दा कैयौं गुणा बढी ऋणका लागि प्रक्रिया अगाडि बढाएको पाइएपछि उनी अख्तियारको फन्दामा परेका हुन् । 

पाँच वर्षअगाडि पर्यटन व्यवसायी सिपी श्रेष्ठले ६० करोड रुपैयाँमा बुटवलका व्यवसायी बालकृष्ण भुसाललाई बेचेको सो निर्माणाधीन होटललाई १ अर्ब ७७ करोड रुपैयाँ ऋण दिनेगरी फाइल अगाडि बढाएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । दुई बिगाहा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त होटललाई बैंकका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीले १७ लाख घुस लिएर ऋण मिलाइदिएको आरोप अख्तियारको छ । 

अख्तियारको अभियोगपत्रमा अध्यक्ष अधिकारीले भुसालका कान्छा छोरा अंकितमार्फत पैसा लिएको देखिएको भनिएको छ । अख्तियारले हस्पिटालिटीअन्तर्गतको र्याडिसन प्रोजेक्टका सञ्चालक भुसाल तथा उनका छोराहरु अमृत र अंकितविरुद्ध पनि मुद्दा दायर गरेको छ । लामो समयदेखि बन्द सो होटल ‘भूत बंगला’ जस्तै बनेको छ । बैंकले के देखेर सो होटलमा त्यत्रो लगानी गर्यो ? रहस्यमय छ । यता, अधिकारीले ऋण मिलाइदिने भन्दै धेरैसँग घुस लिएको खुलेको छ । 

उनले आफ्ना चालक उमेश महर्जनलाई प्रयोग गरेर सस्तो ब्याजमा ऋण मिलाइदिने भन्दै रकम असुल्ने स्रोत बताउँछ । गत चैतमा अध्यक्ष पदबाट हटाइएका अधिकारीले चितवनको सौराहामा रहेको केसी होटललाई ऋण मिलाइदिने भन्दै लाखौं रुपैयाँ मागेको चर्चा चलेको थियो । 

जियाद्धिन फर्मास्यिुटिकल्ससँग पनि उनले ठूलो रकम माग गरेका थिए । ‘वर्तमान गर्भनर डा.विश्व पौडेलको मान्छे हुँ’ भन्दै उनले अहिलेपनि पैसा असुल्ने स्रोतको दाबी छ । पूर्वको विराटनगरदेखि पश्चिमको महेन्द्रनगरसम्मका ठूला ऋणीहरुको लिष्ट तयार गरेर नेपाल बैंकबाट सस्तोमा ऋण मिलाइदिने भन्दै पैसा असुल्ने स्रोत बताउँछ ।

टिप्पणीहरू