बजेटको विरोध गर्दै बाल्कोनीमा बुरुक्क

सत्तारुढ दलकै सांसद बजेटको विरोधमा उभिएका छन् । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आज प्रतिनिधि सभा बैठकमा भिन्न तरिकाले विरोध गरे ।
संसदको दर्शक दीर्घामा उभिएर उनले आर्थिक वर्ष ०८२/०८३ को बजेटप्रति सांकेतिक विरोध जनाए । आज प्रतिनिधिसभा बैठक शुरु भएलगत्तै बजगाईं संसद्को बाल्कोनीमा गएर उभिएका हुन् । त्यहाँ केहीबेर ठिंग उभिएर उनी सांसद बस्ने हलमा ओर्लिएका थिए ।
गोरखाका सांसद उनले त्यहाँका परियोजनामा सरकारले बजेट नछुट्याएको र कतिपय योजनासमेत काटेको गुनासो गरेका छन् ।
‘गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भर्त्सना । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ’, बजगाईंले छन्, ‘मैले संसदभित्र मात्र होइन, आम दर्शक श्रोतामाझ पनि बजेटको यो विकृतिविरुद्ध आफ्नो विरोध सार्वजनिक रूपमा प्रकट गरेको छु।’
अहिले प्रतिनिधिसभा बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले बेल घेराउसहित नाराबाजी जारी राखेका छन् भने बजेटमाथिको सैद्धान्तिक छलफल चलिरहेको छ ।
टिप्पणीहरू