सम्भावना र चुनौतीको दोसाँधमा नेपाली पत्रकारिता

पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्ने मान्यता संसारभर स्वीकार गरिएको छ । सुसूचित समाज, उत्तरदायी शासन र सशक्त नागरिक समाज निर्माणमा पत्रकारिता जगतको अहम् भूमिका रहँदै आएको छ । नेपाली पत्रकारिता समयानुकूल विकसित हुँदै आए पनि सहज र बाधारहीत भने रहेन । परिवर्तनका अनेकन चरण पार गर्दै हाम्रो पत्रकारिता आज डिजिटल युगको नयाँ मोडमा आइपुगेको छ । यद्यपि यसले सामना गरिरहेका बहुआयामिक चुनौती समाधान नगरि पूर्णरूपमा जनमखी, निष्पक्ष र सशक्त पत्रकारिता सम्भव हुने छैन ।
नेपालमा पत्रकारिताको औपचारिक आरम्भ २००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि भएको मानिन्छ । यद्यपि त्यसअघि पनि निजी प्रयासमा केही पत्रिकाहरू (जस्तैः गोरखापत्र, १९०१) प्रकाशित भैसकेका थिए । २०४६ सालको जनआन्दोलनपछि प्राप्त संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको सुनिश्चितताले पत्रकारिता क्षेत्रले फस्टाउने मौका पायो । त्यसपछि २०६२/६३ को दोस्रो जनआन्दोलन र गणतन्त्र स्थापनापछि झन् व्यापक रूपमा जनसरोकारमा केन्द्रित बन्न थाल्यो । आज पत्रकारिता बहुआयामिक रूपमा विकास भइरहेको छ ।
प्रिन्ट मिडिया, टेलिभिजन, एफएम रेडियो, अनलाइन खबरहरू तथा सामाजिक सञ्जालमार्फत पत्रकारिता नागरिकको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने चरणमा पुगेको छ । राजनीति, समाज, शिक्षा, स्वास्थ्य, लैङ्गिक समावेशिता, भ्रष्टाचार, वातावरण, मानवअधिकार आदि क्षेत्रमा पत्रकारहरूले गहिरो रिपोर्टिङ गर्न थालेका छन । तथ्य–जाँच डेटा पत्रकारिता र खोजमूलक पत्रकारिता समेत लोकप्रिय बन्दै छन । स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जालले गर्दा ‘सिटिजन जर्नालिज्म’ अर्थात् नागरिक स्वयंले खबर बनाउने अभ्यास पनि मौलाउँदै गएको छ । यसले सूचनाको द्रुत प्रवाहलाई सहज बनाएको छ।
नेपाली पत्रकारितामा देखिएका प्रमुख चुनौतीहरू
प्रेस स्वतन्त्रता र नियन्त्रण : कागजीरूपमा प्रेस स्वतन्त्रता सुनिश्चित भए पनि व्यवहारमा सरकारी तथा निजी शक्तिहरूको हस्तक्षेप देखिन्छ । विज्ञापन नदिने, अनुदान रोक्ने, धम्की दिने, मुद्दा हाल्ने जस्ता माध्यमबाट पत्रकारहरूलाई दबाब दिने काम भइरहेका छन् ।
सञ्चारकर्मीमाथि हिंसा र धम्की : पत्रकारहरू जोखिम मोलेर रिपोर्टिङ गरिरहेका हुन्छन् । विशेषगरी भ्रष्टाचार वा अपराध उजागर गर्ने पत्रकारहरू हत्या, कुटपिट वा सामाजिक बहिष्कारको शिकार बन्ने गरेको थुप्रै दृष्टान्त छन् ।
राजनीतिक स्वार्थ र मिडिया मालिकहरूको प्रभाव : नेपालका धेरै सञ्चारगृह राजनीतिक दल वा व्यवसायिक घरानासँग निकट छन् । यसले सम्पादकीय स्वतन्त्रता खुम्चनुका साथै समाचारको निष्पक्षतामा पनि प्रश्न उठ्ने गरेको छ ।
अफवाह, फेक न्युज र सामाजिक सञ्जाल : सूचना प्रवाह सजिलो भए पनि त्यससँगै झूठा खबर, हल्ला र गम्भीर अफवाहको समस्या बढेको छ । तथ्य–जाँच नगरी प्रकाशित हुने सामग्रीले समाजमा भ्रम फैलाउने खतरा बढेको छ ।
ग्रामीण–शहरी पहुँचको असमानता : शहरमा पत्रकारिता अत्यधिक विकसित भए पनि दुर्गम ग्रामीण भेगमा भने सञ्चार पहुँच अझै पनि कमजोर छ । यसले नेपालको समावेशी पत्रकारिता विकासमा अवरोध पुर्याइरहेको छ ।
आर्थिक अस्थिरता र पारिश्रमिक समस्या : अनेक सञ्चारमाध्यमहरू आर्थिक संकटमा छन । पत्रकारहरू उचित तलब/सुविधा नपाएर पेशाबाट निराश हुने अवस्था बनिरहेको छ । मिडिया कम्पनीहरू विज्ञापनमा निर्भर छन्, जसले सामग्रीको स्वतन्त्रतालाई पनि असर गर्छ ।
सम्भावना र सुधारका उपायहरू
विधिको उपयोगः मोबाइल पत्रकारिता, डेटा पत्रकारिता, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्रविधिहरू अपनाएर पत्रकारिता अझ प्रभावकारी बनाउन सकिन्छ ।
पत्रकारको सुरक्षाः कानुनी सुरक्षा, बीमा र पेशागत सम्मानले पत्रकारहरूको मनोबल उच्च बनाउनेछ ।
स्वतन्त्र सम्पादन बोर्ड र कोड अफ कन्डक्टः सम्पादकीय स्वतन्त्रता कायम राख्न स्वतन्त्र सम्पादकीय बोर्ड र आचारसंहिता कडाइका साथ पालना गरिनुपर्छ ।
स्थानीय पत्रकारिताको प्रवद्र्धनः स्थानीय भाषामा, स्थानीय मुद्दामा आधारित पत्रकारिता ग्रामीण समाज सशक्त बनाउने मूल आधार हो ।
निष्कर्ष
नेपालमा पत्रकारिता निरन्तर रूपान्तरणको यात्रामा छ । लोकतन्त्र सुदृढ बनाउने, नागरिकलाई सशक्त बनाउने र राज्यलाई उत्तरदायी बनाउने मूल उद्देश्य बोकेको यो क्षेत्र आज सम्भावनासँगै चुनौतीको संघारमा उभिएको छ । सशक्त, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि राज्य, सञ्चारगृह, पत्रकार र नागरिक समाज सबैको सक्रिय सहयोग अपरिहार्य छ ।
(आमसञ्चार र पत्रकारिता बिषयमा स्नातकोत्तर गरेका दाहाल जनआन्दोलन २०६२/०६३ का घाइते पत्रकार हुन्)
टिप्पणीहरू