अर्थमन्त्रीको पालोमा रास्वपा झन् उग्र
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले लगाएको नाराप्रति नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ ।
रास्वपा सांसदहरुले ‘मानव तस्करलाई कारवाही गर’ भन्दै चर्को नाराबाजी गरेपछि कांग्रेसकी सचेतक सुशीला थिङले कुर्सीबाट उठेर नियमापत्ति जनाएकी हुन् । मानव तस्कर कसलाई भन्न खोजेको हो ? उनले प्रश्न गरिन् ।
बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई समय दिएका थिए । तर अर्थमन्त्री पौडेल रोष्ट्रमसम्म नपुग्दै भुइँमा बसेका रास्वपा सांसदहरु जुरुक्क उठेर ‘हाम्रो आन्दोलन जारी छ’, ‘मानव तस्करलाई कारबाही गर’, ‘गृहमन्त्री राजीनामा दे’, ‘मानव तस्करलाई संरक्षण बन्द गर’, ‘फासफुस सम्झौता चाहिदैँन’ लगायतका नाराबाजी गरे ।
त्यतिकैमा सचेतक थिङले कुर्सीबाट उठेर संसद नियमावलीको बुँदा नम्बर २० र २१ सम्झाइन् । ‘संसदमा बोल्दा र प्रस्तुत हुँदा मर्यादित शब्द प्रयोग गर्नुपर्छ, तर यहाँ मानव तस्करजस्तो आपत्तिजनक शब्दहरू उठ्यो’, उनले भनिन्, ‘बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्दा यस्ता अमर्यादित शब्द प्रयोग गर्न पाइँदैन, मानव तस्कर भनेर कसलाई भन्न खोजेको हो ?’
त्यसपछि सभामुख घिमिरेले ‘ध्यानाकर्षण भएको छ’ भन्दै संसदभित्र गरिने गतिविधिमा मर्यादित र जिम्मेवारपूर्ण बन्न सबै सांसदहरुलाई रुलिङ गरेका थिए ।
टिप्पणीहरू