आइजिपीलाई देखाएर जहाँ करोड पचाइन्छ

आइजिपीलाई देखाएर जहाँ करोड पचाइन्छ

प्रधानमन्त्री केपी शर्मा ओली सुशासनको कुरा गरेर थाक्दैनन् । तर उनकै प्रतिष्ठा जोडिएको, त्यो पनि झापास्थित दमक टावरको नाकैमा राज्य कोषको करोडौं रूपैयाँ दोहनको एउटा गम्भीर कहानी छ । ओलीले नै सरुवा गरेर लगेका सशस्त्र प्रहरीका एसएसपी राजेश उप्रेतीबाट ‘लखनउ लुट’ मच्चिएको हो । 

‘प्रधानमन्त्री सुशासन भनेर थाक्नुहुन्न । तर, उहाँकै पावरमा र उहाँकै गृह जिल्ला झापा गएका एसएसपीले लखनउ लुट मच्चाउनुभएको छ । झापा नै चाहिन्छ भनेर जाने तर प्रधानमन्त्रीको सुशासनलाई धज्जी उठाउँदै करोडौं सरकारी पैसा झ्वाम पार्ने काम भएको छ,’ स्रोत भन्छ, ‘संवेदनशील ठाउँमा पूर्वाधार बनाउने नाममा आएको बजेट सबै गोजीमा हाल्ने काम हुँदा नेतृत्व रमिते बनेको छ ।’

घटना हो, झापास्थित पाथीभरा जवान तालिम शिक्षालय । जहाँ लेखापाल निरीक्षक घनश्याम घिमिरे छन् । यी दुवैले ३ करोड नियमित र मासिक सिलिङबाहेकको बजेट कागजी प्रक्रिया मिलाएर सकाएको स्रोतको दावी छ । ‘यो नियमित बजेटबाहेकको हो, जसमा काम नगरी कागजी प्रक्रिया मिलाएर खाए वा खाने प्रक्रियामा छन्, ’ स्रोत भन्छ, ‘घनश्यामले ५० प्रतिशत माथि आइजीलाई बुझाउनुपर्ने छ भन्ने अनि चिरिप्प पार्ने रहेछन् । बाँकी ५० प्रतिशतको पनि ३०÷३५ प्रतिशत भाग लगाएर खाएका छन् ।’ 

केही खर्च गरेजस्तो देखाउँदा पनि उप्रेतीको कामगराइ लाज लाग्ने खालको छ । हतियार सिक्ने, सिकाउनेजस्तो संवेदनशील ‘वेपन नर्सरी’का नाममा उप्रेतीले अर्को निषेधित हर्कत गरेकोे स्रोत बताउँछ । ‘उप्रेतीले बढीमा ३५ हजार लगानी गरेर वेपन नर्सरी बनाए । तर यो केही कामकाजी छैन । काठका टेको लगाएर, दुईवटा पोस्ट बनाएर सकियो ।

स्ट्याण्डर्ड फम्र्याट नै छैन,’ स्रोत भन्छ, ‘एकातिर कमसल काम गरेर बजेट झ्वाप पारे, अर्कोतिर हतियारजन्य गतिविधिका निषेधित कुरा पत्रिकामा छपाएर अनुशासनहीन काम गरे ।’ नेपाली सेनामा यस्ता कामको प्रचार गरिँदैन । सुरक्षा संवेदनशीलता र गोपनीयताको कारण बाहिर कुनै जानकारी दिइँदैन । तर एसएसपीले अनियमितता छोप्न मिडियाबाजी गरेको स्रोत बताउँछ ।  ‘हतियार सिकाउने, निशाना, अरु प्राविधिक कुराको जानकारी दिने जस्तो कुरा पत्रिकामा लेखाएर आफूले गरेको अनियमितता छोप्न खोजेका छन्,’ सुरक्षा स्रोत दावी गर्छ, ‘निषेधित कुरा हुन् । सेनाले यस्ता कुरामा कोर्टमार्शल गर्छ । सशस्त्रमा भने यस्तै चल्दै आएको छ ।’

वेपन नर्सरी हतियार कसरी ह्यान्डलिङ गर्ने, कसरी ताक्ने, हान्ने र अरु थुप्रै प्राविधिक विषय सिकाउने ठाउँ हो । तर उप्रेती साबले तार र डोरी टाँगेर बजेट हान्दिए । टिकाउ हुने त कुरै छैन । वर्षामा घाँस उम्रेर उधुम हुने ठाउँमा ‘वेपन नर्सरी’ बनाएको नाममा आइजीलाई रनभुल्लमा पारिदिए भन्दै सशस्त्रका जवानहरू मुखामुख गर्न थालेका छन् । । नयाँ शब्द ‘वेपन नर्सरी’ सुनेर आइजीसाब राजु अर्याल पनि उस्तै खुशी भएको स्रोत बताउँछ । यसैको पछाडि खाल्डो खनेर आइजीबाटै स्कुलको शिलान्यास गराए । तर बजेटको टुंगो छैन, मास्टर प्लान तयार हुने त कुरै छैन । जेठमा शिलान्यास गरेर कहिले बजेट हाल्ने, कसरी काम गर्ने, हचुवामा सबै गर्दै आएका छन् । तीन करोड काम नगरी सकेजस्तै भवनको नाममा पनि पैसामाथि उस्तै आँखा लगाएको स्रोत बताउँछ । 

उप्रेतीका लागि भर्‍याङको काम गर्ने एकाउन्टेटले त आइजीलाई नै बदनाम बनाएका छन् । ‘साबलाई बिहानदेखि बेलुकासम्म रक्सी खानुपर्छ । दिनको दुई बोतल त नभइहुँदैन,’ स्रोत भन्छ, ‘आफ्नै संगठनका वरिष्ठ हवल्दारको श्रीमतीलाई भित्र ल्याउने राख्ने, सँगै रक्सी ख्वाउनेमा नाम अगाडि छ । आइजीको नाममा त्यसले त्यहाँ पूरै बदनाम गराएको छ । तीन करोडमा ५० हजारको काम गरेको भए धन्न !’ 

आफ्नै जिल्लामा चुहावटका यस्ता गम्भीर घटना भएका छन् । ओली बजेट बचाएँ भन्न छोड्दैनन् । आफ्नै गृहजिल्लामा यस्तो चुहावट छ तर वृद्धभत्ता कटाएर बजेट जोगाएँ, ढुकुटी टाइट गरेँ भन्दै छन् । तर सशस्त्रको ५३९ युनिटमध्ये केहीमा यस्ता विकृति छन् । तीन करोडको यस्तो हिसाबले देशभर कति अनियमितता होला ? 

अकाउन्टेन्ट घिमिरे पहिले पाथीभरा जवान तालिम शिक्षालयमा बसेका थिए । सरुवा भएर दन्तकाली गए । तर धेरै नै चलखेल गर्न पाइने भएपछि माथिबाटै सेटिङ मिलाएर पाथीभरा फर्कन भ्याए । दमक टावर नजिक मात्रै हैन, बर्दघाटमा पनि यस्तै छ । त्यहाँ शंकर खनाल एसएसपी र सुभाष खड्का अकाउन्टेन्ट छन् । मिलेमतोको शैली दमकभन्दा फरक छैन । सुवास उच्च भूभाग तालिम शिक्षालय मनाङ पुगे तर त्यहाँ टिकेनन् बर्दघाटमै फर्किए ।

खनालको पनि खाने शैली झापातिरैको जस्तो देखिएको स्रोत बताउँछ । अर्का छन् गंगाराम श्रेष्ठ– तालिम शिक्षालय बाँकेमा । ‘सिपाहीले सय÷पचास खाए कारवाही गर्छन् तर आफ्नै यो ताल छ, ’ सशस्त्र स्रोत भन्छ, ‘अगुवाले नै बजेट र रकम यसरी झ्वाम पार्छन् । अनि नतिजामा तालिमको गुणस्तर देखिँदैन, यस्तै भद्रगोल संगठनमा व्याप्त छ ।’

टिप्पणीहरू