भारत र चीन जोड्ने कालीगण्डकी करिडोर बन्द
फाइल फाेटाे
नेपाललाई भारत र चीनसँग जोड्ने कालीगण्डकी करिडोर पाँच दिनदेखि बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
असार ४ गते कालीगण्डकी गाउँपालिका–१ स्थित हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा गएको सुख्खा पहिरोले करिडोर पूर्णरुपमा अवरुद्ध छ । जसका कारण आधा दर्जन मालवाहक सवारी साधन बीच बाटोमै रोकिएका छन् भने आवागमन प्रभावित भएको छ ।
जसका कारण स्थानीयलाई स्याङ्जा, बाग्लुङ, पर्वतको वैकल्पिक मार्ग गन्तव्य पुग्नुपर्ने बाध्यता छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीले पहिरो हटाउने काम भइरहेको जनाएको छ । सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार कालिका कन्ट्रक्सन र प्रहरीले संयुक्त रुपमा पहिरो हटाइरहेको छ ।
सम्भवतः आज बेलुकासम्म सडक खुल्ने उनले जानकारी दिए । ‘यहाँको माटो एकदम कमजोर छ । पानी पर्दा होस् या नपर्दा पहिरो गइरहन्छ । हिजो दिनभर पहिरो जाँदा कामै गर्न सकेनौं । अहिले धमाधम पहिरो पन्छाउने काम भइरहेको छ, आज बेलुकासम्म चाँहि सडक सुचारु हुन्छ होला’,उनले भने ।
त्यसैगरी, उनले मालवाहक सवारी साधन मात्र ठप्प बनेको जानकारी दिए । अगाडि थपे,‘मालवाहक सवारी साधनचाँहि रोकिएको छ । साना सवारी साधनका लागि वैकल्पिक बाटो छ ।’
गत असार २ गतेपनि पहिरोका कारण करिडोर अवरुद्ध बनेको थियो । सोही गाउँपालिका–१ मा खसेको पहिरोले सडक पूर्ण रुपमा बन्द भएकोमा प्रहरीले सुचारु गरिसकेको छ ।
टिप्पणीहरू