भिजिट भीसाको सेटिङबारे यी आँखाले जे देखे

सन् २०२३ सालको डिसेम्बर महिना । मुटु काँपिरहेको थियो । आँखाबाट आँशु आइरहेको थियो तर जसोतसो रोक्दै थिएँ । पहिलो पटक लामो समयका लागि युरोपियन मुलुकको फिल्मफेष्टिभलमा भाग लिन र घुम्न जानु थियो । तिमी सधैंको लागि होइन, केही महिनालाई मात्रै जाने हो भनेर मनलाई सम्झाउँदै थिएँ । मलाई पहिलो पटक घर (महेन्द्रनगर) छोडेर काठमाडौं आउँदाको जस्तै महसुस हुँदै थियो । राति ११ बजेतिरको फ्लाइट थियो । अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ । मसँगै भाइ, बुहारी, ज्वाइँ र बहिनी थिए । माहोल हेर्दा नरूनेहरूलाई पनि आँशु आउने खालको थियो । भावुकताबीच आँखा टक्क एउटा समूहमा अड्कियो । मैले बहिनीलाई त्यो समूहतिर देखाएँ । बहिनीले झट्ट भनिहाली ‘अब यहाँ नि नबोल्, लफडा नगर्, आफ्नो काममा ध्यान दे !’ रगतमै भरिएको पत्रकारितालाई आँखा र मोबाइलद्वारा कैद गरेँ । बहिनीको कुरा पनि मनन गरेँ । कति मात्रै विरोध गर्नु ? मैले गरेर मात्रै के हुन्छ ? दुःख नै पाउने हो भन्ने लाग्यो ।
बोर्डिङ पासका लागि भित्र छिरेँ । त्यो समूह पनि मसँगै पर्यो । बोर्डिङ पास लिन जाँदा मलाई रोकियो, निहुँ थियो कि ‘डेट एक्सपायर भएको पासपोर्ट किन नबोकेको’ जान लागेको ठाउँसम्बन्धी सबै प्रमाण देखाएको थिएँ तैपनि सेतो सर्ट, कालो प्यान्ट, दुब्लो र गहुँगोरो वर्णको, कानमा सानो मुन्द्रा लगाएको केटोले साह्रै दुःख दियो । फेस्टिभलको लेटर, सामाजिक सञ्जालमा अफिसियल नोटिस देखाउँदा पनि पुरानो पासपोर्ट किन नबोकेको भनिरह्यो । मैले भन, ‘नयाँ भएपछि पुरानो (डेट एक्सपायर) भएको बोकिनुपर्छ र ? कहिलेदेखि यस्तो नियम आयो भनेर जिज्ञासा राखेँ । नजिकै रहेको अर्को स्टाफले दे यार बोर्डिङ पास भन्यो तर उसले २५ मिनेटसम्म आनाकानी गरिरह्यो । लेफ्ट साइडमा केही खाली ठाउँ थियो ।
त्यहाँनिर मलिलो रङको कुर्ता लगाएकी महिला अपराधीझैँ लामो समयदेखि उभिइरहेकी थिइन् ‘अनुमान लगाउन समस्या थिएन, उनीहरू सेटिङमा जाँदै छन् भनेर’ । पछि मलाई बोर्डिङ पास दिइयो । म मुड खराब गर्ने मनस्थितिमा थिइनँ । माथि अध्यागमनतर्फ गएँ । ती महिला मैले बोर्डिङ पास लिएर अध्यागमनतर्फ जाँदासम्म मूर्तिझैँ ठिंग त्यहीँ उभिइरहेकी थिइन् ।
अध्यागमनतर्फ लाग्दै गर्दा सोचेँ– अब यहाँ पनि दुःख दिन्छन् कि ? लाइनमा ३–४ जना महिलाको पहिरन र अवस्थातर्फ ध्यान गयो । उनी गुलाबी कुर्ताम थिइन् । पछाडि सुरुवालको नाडामा अड्किएर माथि सुर्किएको थियो । हातमा एउटा सानो झोला । आँशु यति बगिरहेको थियो कि कुर्ताको अघिल्लो भागले पुछ्दापुछ्दै भिजिसकेको । काउण्टर नपुग्दासम्म नजर उनीमै अड्किरह्यो । सोध्न मन लागिरहेको थियो– दिदी, तपार्ईंंलाई के बाध्यता आइपर्यो ? यस्तो अवस्थामा कसरी गइरहनुभएको छ ? तपाईंलाई कसले रिसिभ गर्छ ? कोसँग जाँदै हुनुहुन्छ ? यति प्रश्न मनमा खेल्दाखेल्दै मेरो पालो आयो । डकुमेन्ट देखाएँ । केही सोधेन । अध्यागमनका कर्मचारीले जान भने । लाग्यो, अनुभवी रहेछन् । को–कस्तो भन्ने हेराइले नै पहिचान गर्न सक्दा रहेछन् । एउटी महिलाले पाइन्ट र माथि कालो लामो सर्ट लगाएकी थिइन् । उनको पनि भिजिट भिसा थियो । सायद पठाउने कन्सल्टेन्सीले केही मिलाउन छुटेको थियो । कर्मचारीले उनलाई रोकेका थिए । काउण्टरको कुर्सीमा बसेका बाहेक पछाडि घाँटीमा आइडी कार्ड लगाएका मानिस निकै चहलपहल गरिरहेका थिए । मेरो पालो आएर चेकिङमा गएँ । ती दृश्य यथावत् त्यहीँ रहे ।
हाम्रो फ्लाइट टाइम भयो, भित्र छिर्यौँ । मेरो सिटको तेस्रो नम्बरमा अध्यागमनले रोकेको महिलालाई देखेँ । दुबईसम्मको उडान ४ घण्टाको थियो । उनले लामो सास फर्दै अध्यागमन र बोर्डिङ पास दिने कर्मचारीलाई गाली गर्दै प्यान्टभित्रबाट अर्को टिकट झिकिन् । यस्तो नगरे त दुःख दिइहाल्छन् भनेर फिस्स हाँसिन् । ढुक्क भइयो अब भन्दै कुबेत जाने टिकट ब्यागमा राखिन् । सबै कुरा बताउन चाहिनन् । कुबेत गएको ४ वर्ष भएछ । घर झापा । सँगै अर्की युवती थिइन् । पहिलो पटक जान लागेकी । झापा घर जाँदा साथीलाई पनि ल्याएकी रहिछन् । उनी चुपचाप बसेकी थिइन् । त्यो ४ घण्टाको अवधिमा न उनीहरूले चिसो हुँदा ब्ल्याङकेट ओढे न त पिसाब फेर्नै गए । सीधै दुबईमा ओर्लेर कहाँ गए, पत्तो भएन ।
अहिले समाचार छरपष्ट आएपछि धेरै अनुसन्धान गरेर भिजिट भीसा काण्ड पत्ता लागेको भन्नै पर्दैन । मैले माथि उल्लेख गरेको दृश्य ०८० साल भदौ महिनाको हो । भिजिट भिसाका नाममा हुने अवैधानिक गतिविधि पैसामा कुरा नमिलेपछि मात्रै बाहिर आउने हो ।
कहाँनिर कुरो मिल्दैन र बल्ल कुरा बाहिर आउँछ । हामी पत्रकारले त त्यो काण्ड नमिलेको अवस्थासम्म मात्रै कुर्ने हो । कसको धोती कहाँ फुस्काउनु छ र ! स्वार्थमा निहित काम मात्रै हुन्छ यहाँ । भिजिट भिसा लिएर नेपाल सरकारले सम्झौता नगरेका देशमा पनि नेपाली गइरहेका छन्् भन्ने सबैलाई थाहा छ । शंकास्पद व्यक्तिलाई पैसा खाएर छोड्ने र दलालसँग मिल्ने प्रक्रिया नयाँ होइन । भिजिट भिसा ओपन सेक्रेट हो । पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ, रवि लामिछाने वा वर्तमान गृहमन्त्री रमेश लेखकलाई पनि यसबारे धेरै कुरा थाहै छ ।
टिप्पणीहरू